चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय : प्रधानमन्त्री हिपकिन्स

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण
चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय : प्रधानमन्त्री हिपकिन्स

तस्बिर : रोयटर्स

चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले  बताएका छन्।

चीन भ्रमणमा रहेका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको बताएका हुन्। सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिँदै उनले न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण रहेको धारणा राखे।

‘हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापक रूपमा परिभाषित गर्न सकिन्छ,’ उनले भने। कोभिड– १९ को महामारीबाट बाहिर निस्किँदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुनः स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताएका छन्।

‘चीन पहिलेदेखि नै न्युजिल्यान्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ,’ चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाबारे उत्साहित हुँदै उनले भने, ‘द्विपक्षीय शिक्षा सम्बन्ध धेरै राम्रो रहेको र दुई देशबीचको शिक्षा सहयोगलाई थप बढावा दिन तत्पर रहनुपर्छ, जसबाट दुवै देश लाभान्वित हुन सकून्।’

‘चिनियाँ पर्यटकको संख्या देखेर हामी धेरै उत्साहित छौँ। यो संख्या निरन्तर बढ्दै गएको छ,’ उनले भने।  प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा छन्। यस अवधिमा उनले उत्तरी चीनको बन्दरगाह सहर टियाङजिनमा समर डाभोस फोरम भनेर चिनिने नयाँ च्याम्पियनहरूको १४औँ वार्षिक बैठकमा भाग लिँदै छन्।

सुझावित समाचार