कृषि विज्ञहरूले नेपालमा उच्चस्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन्।
उनीहरूले देशमा सेन्टर अफ एक्सलेन्सको रूपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए। विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाई कृषिमा क्रान्ति गर्न नसकेको उनीहरूको दाबी छ।
जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्र रूपमा क्रान्ति गरेको बताए। बुधबार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको चौथो साधारणसभामा बोल्दै समाजका पूर्वकार्यकारी निर्देशक ध्रुव जोशीले नेपालमा उत्कृष्ट कृषि अनुसन्धान केन्द्र आवश्यक रहेको बताए।
कृषि अनुसन्धानका लागि उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म र अनुसन्धान केन्द्रले आफ्ना काम गर्न नपाएसम्म देशमा कृषिको विकास हुन नसक्ने उनको भनाइ थियो।
उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भ्रष्टाचार व्याप्त भएको गुनासो गरे। उनले नार्कमा आर्थिक चलखेलका साथै सरुवा, बढुवा र नियुक्तिमा पनि भ्रष्टाचार मौलाएको बताए।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको बताए। यही अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्न सक्ने स्थिति रहेको उनको भनाइ थियो। अध्यक्ष गौतमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नीति, नियमबाट सञ्चालन हुन नसकेको बताए।