गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

गण्डकी प्रदेशले आर्थिक वर्ष ०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन। असार दोस्रो सातासम्ममा कुल बजेटको ४७.५९ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

चालू आवका लागि रु. ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो। कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लाग्दा रु. १७ अर्ब आठ करोड ९२ लाख मात्र बजेट खर्च भएको हो। 

असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी पुरानै समस्या हो। गण्डकीमा चालू आवको असारमा उल्लेख्य रूपमा खर्च बढेको छ। कार्यालयबाट एक दिनमै रु. १० करोडसम्म निकासा भएको कार्यालयका लेखा अधिकृत लक्ष्मीकान्त शर्मा पौडेलले जानकारी दिए।  

उनका अनुसार असारमा चालूगत खर्चभन्दा पुँजीगत खर्च बढ्ने गरेको छ। चालू वर्षका लागि विनियोजित बजेटमध्ये असार १२ गतेसम्म चालूतर्फ रु. ६ अर्ब ८६ करोड २० लाख र पुँजीगततर्फ रु. १० अर्ब २२ करोड ७१ लाख खर्च भएको तथ्यांक छ। 

प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेशका ११ जिल्लामा अबको १८ दिनमा रु. नौ अर्ब ८४ करोड २५ लाख अर्थात् ७० देखि ७५ प्रतिशत बजेट खर्च गर्ने अनुमान गरेको छ। 

सामान्यतः आर्थिक वर्षको बजेट २५ असारसम्म निकासा हुने चलन छ। केही समस्या भएमा निवेदनका आधारमा वा केन्द्रको मन्त्रिपरिषद्को निर्णयका आधारमा असार मसान्तसम्म रकम निकासा लिने पुरानै चलन हो 

बजेटमा देखिएको असारे विकास रोक्न कार्यालय, उपभोक्ता र निर्माण व्यवसायी मिलेर जानुपर्ने लेखा अधिकृत पौडेलको भनाइ थियो। रासस 

सुझावित समाचार