भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट नमस्तेपेबीच फोनपे क्युआर भुक्तानी नेटवर्कमा आबद्ध हुने सम्झौता भएको छ । सम्झौतामा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रवणराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले भने, ‘अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्युआरमार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवद्र्धन गर्न थप मद्दत गर्नेछ ।’
प्रयोगकर्तालाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने आफ्नो उद्देश्यमा यो साझेदारी महत्वपूर्ण रहेको उनको भनाइ थियो । नमस्तेपेसँगको साझेदारीले आफ्ना ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्प मिल्नुका साथै समावेशी वित्तीय इकोसिस्टममा थप बढवा पुगेको उनको भनाइ थियो ।
त्यस्तै, नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले फोनपे नेटवर्कलाई आफ्नो भुक्तानी प्रणालीमा समेटी प्रयोगकर्तालाई १२ लाखभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्ने सेवा दिन पाउँदा उत्साहित भएको बताए । कम्पनी आफ्ना ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सधैँ प्रयासरत रहेको उनको भनाइ थियो ।
सम्झौताअनुसार सबै नमस्तेपे प्रयोगकर्ताले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्ने जनाइएको छ ।