प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध यो शुद्धीकरण यतिमा नरोकिने बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दै उनले वर्षाैँदेखि डंगुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरूविरुद्धको लडाइँ नरोकिने बताए।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हात पारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दाबीसमेत गरे।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वाेच्चता मात्रै प्रमाणित गरेको छैन । लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ । लोकतन्त्रभित्र देखापर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुन्छ भन्ने एउटा ऐतिहासिक मापदण्ड यो राम्रोसँग स्थापित भएको छ । उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण पनि सुरु भएको छ । संसद् र आमजनसमुदायलाई म यही रोस्ट्रमबाट विश्वास दिलाउन चाहन्छु– यो शुद्धीकरण यतिमै रोकिनेछैन । यो निरन्तर अगाडि बढ्नेछ । हिजोबाट प्रधानमन्त्रीनिवास नै निल्न खोज्ने ललितानिवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ । वर्षाैँदेखि विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको मैले महसुस गरेको छु। र, यो लडाइँमा मलाई सदनको पनि र आमजनताको पनि अझ ठूलो हौसला र सहयोग प्राप्त हुने विश्वास पनि म व्यक्त गर्न चाहन्छु।’
उनले आफूले सरकार सञ्चलन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिरसमेत गरे। प्रधानमन्त्री प्रचण्डले मुलुकमा सुशासनका लागि अभियान नै सुरु गरेको उल्लेख गर्दै त्यसमा सदन र आमनेपाली जनताले सरकारलाई अझ धेरै साथ दिनुपर्ने आवश्यकता पनि औँल्याए।