सन् १९९६ को विजेता श्रीलंका आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा चार अंकका साथ शीर्ष स्थानमा छ । समूह ‘बी’बाट अपराजित रहँदै सुपर सिक्समा पुगेको श्रीलंकाले नेट रनरेटका कारण शीर्ष स्थान पाएको हो । श्रीलंकाले दुई खेलमा चार अंक जोडेको छ ।
आयोजक जिम्बावे दुई खेलमा चार अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंकाको नेट रनरेट २.६९८ र जिम्बावेको ०.९८२ छ । समूह ‘बी’को स्कटल्यान्डले तेस्रो स्थान हात पारेको छ । स्कटल्यान्डको दुई खेलमा समान एक जित र एक हारसहित दुई अंक छ ।
तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले दुई अंक जोडेको छ । नेदरल्यान्ड्सले २ खेलमा समान एक जित र हार प्राप्त गरेको छ । दुईपटकको पूर्वविश्वकप विजेता वेस्ट इन्डिज र ओमान अंकविहीन छन् । वेस्ट इन्डिज र ओमानले दुवै खेलमा हारका साथ पाँचौँ र छैटौँ स्थान प्राप्त गरेका छन् । जिम्बावेले समूह ‘ए’बाट ४ खेलमा अपराजित रहँदै सुपर सिक्सको स्थान पक्का गरेको हो । जिम्बावेले समूह चरणमा वेस्ट इन्डिज र नेदरल्यान्ड्सलाई हराउँदै चार अंक जोडेको हो । नेदरल्यान्ड्सले समूह चरणमा चार खेलमा तीन जित र एकमा हारको सामना गर्यो ।
नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजलाई सुपर ओभरमा हराउँदै दुई अंक बटुलेको थियो । सुपर ओभरमा पुगेको वेस्ट इन्डिजले समूह चरणमा नेदरल्यान्ड्स र जिम्बावेबाट हारको सामना गरेको थियो । यस कारण वेस्ट इन्डिज अंकविहीन बनेको हो ।
यसैगरी, श्रीलंकाले समूह ‘बी’बाट चार खेलमा अपराजित रहँदै सुपर सिक्स स्थान सुरक्षित गरेको हो । श्रीलंकाले सुपर सिक्समा पुगेका ओमान र स्कटल्यान्डलाई हराएको थियो । यसकारण सुपर सिक्समा श्रीलंकाले चार अंक पायो ।
स्कटल्यान्डले समूह चरणमा चार खेलमा तीन जित र एक हार सामना गर्यो । स्कटल्यान्डले ओमानलाई समूह चरणमा पाखा लगाउँदा दुई अंक हात पार्यो । ओमान सुपर सिक्समा पुगेका स्कटल्यान्ड र श्रीलंकाबाट पराजित भएको थियो । यस कारण ओमान अंकविहीन बनेको हो । सुपर सिक्समा हरेक टोलीले तीन खेल खेल्नेछन् ।