अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदको भत्ता कटौती गर्न सकिने बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने क्रममा मन्त्री महतले मुलुकको अर्थतन्त्र अफ्ठेरोमा परेका वेला खर्च कटौती अभियानअन्तर्गत सांसदहरूले भत्ता नलिने गरी पुनर्विचार गर्नुपर्ने वेला आएको बताए।
‘सांसदको भत्ताको कुरा उठेको छ। खर्च कम गरौँ भन्ने आएको छ। संसद् नियमित १० बजेदेखि ५ बजेसम्म चलायो भने खर्च कम हुन्छ। अरू किसिमबाट जाँदा हाम्रो भत्तामा पनि पुनर्विचार गर्ने हो कि नलिने हिसाबले, यो गर्न सकिन्छ भने यसमा पुनर्विचार गरौँ,’ उनले भने।
रास्वपाकी सांसद निशा डाँगीले दैनिक १० लाख खर्च गरेर बजेट विनियोजन विधेयकमाथि छलफल गर्ने तर कुनै संशोधन नगरी जस्ताको तस्तै पारित गरेर राज्यको ढुकुटीमाथि आर्थिक भार थप्ने काम भएको र छलफलका नाममा सांसदहरूलाई भत्ता दिएर औपचारिकता मात्रै पूरा गर्ने भन्दै प्रश्न उठाएकी थिइन्।
‘बजेट छलफलमा मंगलबारसम्म ११४ घण्टा बिताइसकेका छौँ। त्यसमा पनि सदन सञ्चालन हुँदा प्रत्येक दिन १० लाख खर्च हुन्छ। त्यसमाथि उपस्थित माननीयलाई प्रत्येक दिन दुई हजारका दरले भत्ता दिनुपर्छ। यतिका धेरै खर्च किन गरियो? सांसदले दिएका सुझाव समेटेर बजेट संशोधन नगरिने भन्ने नै थियो भने खर्च किन गरियो?’ उनले सोधेकी थिइन्।
सांसदहरूले मासिक तलबबाहेक बैठक बसेको दिन एक हजार भत्ता र एक हजार यातायात खर्च गरी दुई हजार भत्ता पाउने गरेका छन्।