कञ्चनपुरका स्थानीय सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन्।
नाै स्थानीय तह रहेको जिल्लामा कुल सात अर्ब १० करोड ८२ लाखबराबरको बजेट प्रस्तुत गरिएको छ। सबैभन्दा बढी भीमदत्त नगरपालिकाले एक अर्ब ८१ करोड र सबैभन्दा कम बेलडाँडी गाउँपालिकाले ४६ करोड ४४ लाखको बजेट ल्याएको छ।
यता, पुनर्वास नगरपालिकाले ७४ करोड ८१ लाख, शुक्लाफाँटा नगरपालिकाले ८८ करोड सात लाख, बेदकोट नगरपालिकाले ९८ करोड ५१ लाख, लालझाडी गाउँपालिका ४६ लाख ४४ हजार, कृष्णपुर नगरपालिकाले ८९ करोड ६७ लाख, बेलौरी नगरपालिकाले ८६ करोड ७५ लाख र दोधाराचाँदनी नगरपालिकाले ७९ करोड ३५ लाखबराबरको बजेट ल्याएको छ।
०७९ वैशाखमा निर्वाचित जनप्रतिनिधिले त्यसअघि ०७४ सालमा निर्वाचित जनप्रतिनिधिले ल्याएका अधिकांश नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिने बताएका छन्। बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले विगतका अधुरा योजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने बताए। ‘हामीले यसअघिका पालिकाका गौरवका योजनालाई निरन्तरता दिएका छौँ,’ मेयर बोहराले भने, ‘पशु व्यवस्थापन वैज्ञानिक ढंगका साथै प्रांगारिक मल उत्पादन गरेर अघि बढ्छौँ।’ सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि स्वयंसेवक शिक्षक भर्ना गरेर अघि बढ्ने मेयर बोहराले बताए ।
यसैगरी, शुक्लाफाँटा नगरका मेयर रणबहादुर महराले पनि गत वर्ष अघि सारेका नगरका गौरवकै योजनालाई आगामी वर्षमा समेत निरन्तरता दिइने बताए। ‘हामीले आगामी वर्षका लागि शुक्लाफाँटा नगरमा कभर्डहल, चिस्यान केन्द्र, रिङरोड, खानेपानी र नगर शिक्षकका योजना ल्याएका छौँ,’ मेयर महराले भने, ‘यी योजना आफ्नै स्रोतबाट समेत अघि बढाउन सकिन्छ।’
यता, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले कृषिलाई प्राथमिकता दिएको बताउँदै विगतकै अधुरा योजना सम्पन्न गरिने बताए। पुनर्वास नगरका मेयर तोयाप्रसाद शर्माले शिक्षा, कृषि, स्वास्थ्यलगायतका आधारभूत विषयलाई उच्च प्राथमिकतामा राखेर नगरका गौरवका योजना अघि बढाइने बताए। भीमदत्त नगरकी उपमेयर निलम लेखकले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै मेयरसँग विद्यार्थी र उपमेयरसँग अति विपन्न समुदाय नयाँ कार्यक्रम राखेर बजेट ल्याइएको बताइन् । कृष्णपुर नगरका मेयर हेमराज ओझाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, युवा जैविक मलसहितका योजना प्राथमिकताका आधारमा अघि बढाइने उल्लेख गरे।
बेलौरी नगरका मेयर पोतीलाल चौधरीले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, युवा उद्यम सामाजिक सुरक्षासहितका योजना प्राथमिकतामा राखेर बजेट ल्याएको बताए। मेयर चौधरीले विगतकै नगर प्रमुखले ल्याएका योजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले शिक्षा स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, खानेपानीसहितका योजना अघि सारेको बताए।
जनप्रतिनिधिले आ–आफ्नो पालिका समृद्ध बनाउने नारा अघि सारे पनि आन्तरिक आम्दानीको स्रोत निकै दयनीय देखिन्छ। प्रदेश र संघीय सरकारले दिने स्रोतको भरमै ल्याएको बजेट कार्यक्रम प्रभावकारी हुनेमा आशंका उब्जाएको छ।