सिँचाइ विभागका सिडिई शर्मालाई ६ महिना कैद

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

विशेष अदालतले जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । आइतबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला सुनाउँदै ६ महिना सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असोज ०७७ मा दायर गरेको मुद्दामा शर्माकी श्रीमती बबिता फुँयालको नाममा रहेको जग्गा जफत गर्ने आदेशसमेत भएको विशेषले जनाएको छ । 

विशेषका अनुसार शर्मालाई ६ महिना कैदका साथै ९२ लाख ४२ हजार रुपैयाँभन्दा बिगो कायम भई उक्त रकम जरिवाना भराउन आदेश भएको छ । साथै, उनकी श्रीमती बबिताको नाममा विभिन्न स्थानमा रहेको पाँचवटा कित्ता जग्गा जफतको आदेश भएको छ ।

सिँचाइ विभाग ललितपुरमा कार्यरत शर्माले सार्वजनिक सेवामा प्रवेश गरेदेखि ०७६/७७ सम्म दुई करोड ३५ लाख ३१ हजार रुपैयाँ वैध आय गर्नुपर्नेमा तीन करोड ६ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति र खर्च गरिएको भेटिएको थियो । 

See More On

सुझावित समाचार