झापामा दुर्घटना हुँदा दुईको मृत्यु

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी– ६ का ४५ वर्षीय गुरुचन चौधरी र उनकी १८ वर्षीया छोरी कुमकुम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिम आइरहेको प्र१–०१–००च ७४८२ को कार र विपरीत दिशातर्फ गइरहेको प्र.१/०२/००१क ३८७९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा कारचालक गुरुचन र उनकी छोरी कुमकुमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेका उनीहरूको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रिजालले बताए । कारमा चौधरीको परिवार र आफन्त रहेको उनले बताए ।

दुर्घटनामा परी कारमा सवार अन्य पाँचजना घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीया सुजिता चौधरी, १० वर्षीय विवेक चौधरी, उर्लाबारी- ७ की ३६ वर्षीया रञ्जुदेवी चौधरी, उर्लाबारी- ७ कै ४० वर्षीय मुना साह र मोरङ रतुवामाई नगरपालिका- १० का १९ वर्षीय रिकेश न्यौपाने रहेको प्रवक्ता रिजालले बताए ।

उनीहरूको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार