परराष्ट्रमन्त्रीले भने– रुसी सेनामा नेपाली नागरिक भर्ना गर्ने नीति छैन

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

परराष्ट्रमन्त्री एनपी साउदले विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको कुनै नीति नरहेको स्पष्ट पारेका छन् । रुस–युक्रेन युद्धका क्रममा नेपालीहरू रुसी सेनामा भर्ना भइरहेको विषय बाहिर आएका वेला मन्त्री साउदले यो सरकारी नीति नभएको बताए ।  

प्रतिनिधिसभामा आगामी आवको बजेटअन्तर्गत परराष्ट्र मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफलका सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै उनले केही सामाजिक सञ्जाल र अनलाइनबाट प्रकाशमा आएको नेपाली नागरिकहरू विदेशी सेनामा भर्ती भएका भन्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । 

‘विदेशी सेनामा भर्नाका सम्बन्धमा नेपालले केही मित्रराष्ट्रहरूसँग विगतमा गरेका समझदारीअनुरूप परम्परागत रूपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको कुनै नीति नरहेको स्पष्ट पार्न चाहन्छु,’ उनले भने ।  मन्त्री साउदले भारतको संसद् भवनमा राखिएको मुरल नक्साबारे भारतीय पक्षसँग कुरा गरेर प्रतिवेदन पठाउन नयाँदिल्लीस्थित नेपाली राजदूतलाई निर्देशन दिइसकेको र प्रतिवेदन आउने तयारीमा रहेको बताए । 

नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र एक इन्च जमिन अतिक्रमण हुन नदिन प्रतिबद्ध रहेको भन्दै उनले भारतीय चलचित्र आदिपुरुषमा देवी सीताका बारेमा प्रयोग भएको संवादका सम्बन्धमा नेपालको सेन्सर बोर्ड पनि सचेत रहेको जानकारी गराए । ‘यस्तो ऐतिहासिक र गम्भीर विषयमा बनेको चलचित्रमा फ्याक्चुअल इरर देखिनु कदापि उचित होइन । देवी सीता नेपालकी छोरी भएको तथ्य सर्वमान्य छ । यो विषयमा भारतमा समेत निर्विवाद छ,’ उनले भने । 

सुझावित समाचार