नेप्से परिसूचक ११ अंकले वृद्धि, काराेबार रकम पाँच अर्बमाथि

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। आइतबार ६२.२१ अंकले बढेको नेप्से सोमबार ११.६९ अंकले बढेर दुई हजार १२९.४२ बिन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.९९ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ।

सोमबार कारोबारमा आएका दुई सय ७९ कम्पनीको एक करोड १९ लाख तीन हजार कित्ता सेयर पाँच अर्ब ३१ करोड २४ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ । आइतबार ६ अर्ब ४९ करोड चार लाख १२ हजार रुपैयाँबराबरको कारोबार भएको थियो।

आज नेप्सेका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचकमा गिरावट आएको छ। आज माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स ३.११ प्रतिशतले बढेको छ।

यस दिन हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, बिपिओ वित्तीय संस्थालगायत अन्य सातवटा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। यता सुपर म्यादी हाइड्रोपावर कम्पनीको ६.९४ प्रतिशतले मूल्य गिरावट आएको छ। 

सोमबारको कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४२ करोड पाँच लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

सुझावित समाचार