पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्य ४० भन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेमा महिला र बालबालिका छन्। एक लेनको सडकमा विपरीत दिशामा गुडिरहेका दुई बसले एकैपटक दुई फरकफरक सवारीसाधनलाई ओभरटेक गर्दा बसहरू एक अर्कासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ।
दुर्घटनाको केही मिनेटभित्र नै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए। पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धारकर्मीले जनाएका छन्।
देशको उत्तरपश्चिमी पेसावर सहरबाट दक्षिणी बन्दरगाह सहर कराँचीतर्फ जाँदै गरैको बस र कराँचीबाट पूर्वी पन्जाब प्रान्ततर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको हो।