सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी, १६ मात्रै बहाल

आगामी १९ साउनसम्म प्रधानन्यायाधीशसहित थप दुई न्यायाधीशले अवकाश पाउँदा सात न्यायाधीश पद रिक्त हुँदै

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

नौ महिनाअघि सिफारिस तीनजनाको नियुक्ति अलपत्र, सातमध्ये ६ उच्च अदालतमा पनि छैनन् मुख्य न्यायाधीश

देशले १५ महिनापछि प्रधानन्यायाधीश पाए पनि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति महिनौँदेखि अन्योलमा छ । सर्वोच्चमा नयाँ नियुक्ति प्रक्रिया सुरु नहुने मात्रै होइन, नौ महिनाअघि तीन न्यायाधीशको सिफारिस पनि अलपत्र छ । 

२१ न्यायाधीश रहनुपर्ने सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित १६ न्यायाधीश मात्रै कार्यरत छन् । आगामी ३ साउनमा न्यायाधीश टंककुमार मोक्तानले पनि अवकाश पाउँदै छन् । त्यसपछि अहिलेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि १९ साउनदेखि ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन् । यसरी एक महिनाभित्र सर्वोच्चमा सात न्यायाधीशको पद रिक्त हुनेछ । तर, तीनजना न्यायाधीशको पद रिक्त हुँदा गरिएको सिफारिससमेत अझै कार्यान्वयन भएको छैन । 

२१ भदौ ०७९ मा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको सिफारिस गरेको थियो । तीमध्ये एकजनाले उच्चको न्यायाधीशबाट अवकाश पाइसकेकी छिन् भने दुईजनाको नियुक्ति अनिश्चित बनेको छ । जब कि त्यसपछि १६ असोज ०७९ मा कार्की र १४ कात्तिक ०७९ देखि बमकुमार श्रेष्ठले पनि उमेरहदका कारण अवकाश पाइसकेका छन् । 

परिषद्ले उच्च अदालतमा कार्यरत निता गौतम दीक्षित र विनोद शर्माका साथै कानुनका सहप्राध्यापक दीनानाथ पराजुलीको नाम सिफारिस गरेको थियो । तर, संसदीय समितिबाट नाम अनुमोदन नहुँदै प्रतिनिधिसभाको कार्यकाल अन्त्य भएपछि नियुक्ति अन्योलमा परेको हो । हाल नयाँ समिति गठन भए पनि सुनुवाइ हुन सकेको छैन ।

नेपालको संविधानको धारा १२९ (२) मा न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति हुने व्यवस्था छ । न्यायपरिषद् ऐनअनुसार सर्वोच्चमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै सिफारिस गर्नुपर्छ । ऐनको दफा ४ (१) मा ‘उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअगाडि नियुक्तिका लागि सिफारिस गर्ने’ प्रावधान छ । यसरी सिफारिस भएकाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट सर्वोच्चका प्रधानन्यायाधीश र न्यायाधीशहरूले शपथग्रहण गर्छन् । 

तर, यो कानुनी व्यवस्था न्यायपरिषद्ले नै निरन्तर उल्लंघन गर्ने गरेको छ । स्रोतका अनुसार रिक्त पाँच न्यायाधीश दलहरूले भागबन्डामा नियुक्ति गर्न चाहिरहेकाले पुरानो सिफारिसबारे अन्योल बढेको हो । 

परिषद् सदस्य रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले यसअघि भएका नियुक्तिबारे परिषद् तत्काल अनिर्णीत रहेको बताए । परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सल्लाह गरी रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि बैठक डाक्ने र निर्णय हुने उनको भनाइ छ । 

‘परिषद् बैठक ठ्याक्कै यो दिन बस्छ भन्ने त केही टुंगो लागेको छैन । प्रधानन्यायाधीश अध्यक्ष हुनुहुन्छ, उहाँले सल्लाह गरेर रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि बैठक डाक्नुहुन्छ र निर्णय हुन्छ,’ उनले भने, ‘पहिले नै सिफारिस भएका न्यायाधीशको सुनुवाइका विषयमा पनि के होला भन्न सक्दिनँ । तर, मलाई के लाग्छ भने परिषद्ले नै निर्णय गरेर अब पहिलेकै नाम हो कि नयाँ नाम राखेर हो, फेरि संसदीय सुनुवाइ समितिलाई पठाउनुपर्छ । जसरी नयाँ संसद् आउँदा विधेयक अन्त्य हुन्छ, त्यसैगरी पुराना समितिका कामकारबाही पनि नयाँ समिति आएसँगै अन्त्य हुने होला ।’

सातमध्ये ६ उच्च अदालतमा छैनन् मुख्य न्यायाधीश : उच्चमा ४१ र जिल्लामा ३५ न्यायाधीश रिक्त
हाल देशभरका उच्च र जिल्ला अदालतमा पनि न्यायाधीश रिक्त छन् । उच्चमा ६ जना मुख्य न्यायाधीश र ४१ न्यायाधीश नियुक्त हुन सकेका छैनन् । देशका सातमध्ये ६ वटा उच्च अदालतमा मुख्य न्यायाधीश छैनन्, कामु मुख्य न्यायाधीशका भरमा चलेका छन् । जनकपुर र पाटन उच्च अदालतमा त कामुसमेत तोकिएको छैन । 

उच्च अदालत विराटनगरमा सत्यमोहन जोशी थारूलाई कामु मुख्य न्यायाधीशको जिम्मेवारी दिइएको छ । उच्च अदालत पोखरामा डिल्लीराज आचार्य, तुलसीपुरमा रत्नबहादुर बागचन्द र सुर्खेतमा माधवप्रसाद पोखरेल कामु मुख्य न्यायाधीश छन् । उच्च अदालत दिपायल भने नृपध्वज निरौला मुख्य न्यायाधीशका रूपमा कार्यरत छन् । समयमा नियुक्ति नहुँदा एकातर्फ न्यायिक प्रक्रिया प्रभावित भएको छ भने अर्काेतर्फ न्यायाधीशहरूको करिअर विकासमा पनि असर गरेको छ । त्यस्तै, जिल्ला अदालतहरूमा ३५ न्यायाधीशको पद रिक्त छ । 

कानुनी जटिलता पनि छन्
न्यायाधीशको सिफारिस तथा नियुक्तिमा कानुनी तथा संवैधानिक जटिलतासमेत देखिएका छन् । उच्चको मुख्य न्यायाधीशको हैसियतमा सर्वोच्चमा सिफारिस भएकी निता गौतम दीक्षितले उमेरहदका कारण अवकाश पाइसकेकी छिन् । संविधानको धारा १४२ (१) (ख) मा उच्चका न्यायाधीशको उमेर ६३ वर्ष पूरा भए पद रिक्त हुने उल्लेख छ । गौतमले सोही प्रावधानअनुसार गत वर्ष मंसिरमै अनिवार्य अवकाश पाइसकेकी छिन् । उनले अवकाश नपाएको भए अझै दुई वर्षसम्म अर्थात् ६५ वर्षसम्म सर्वोच्चको न्यायाधीशका रूपमा बहाल रहन्थिन् । उनलाई परिषद्ले सेवानिवृत्त हुनुभन्दा ६० दिनअघि नै अवकाशबारे पत्राचार गरी जानकारी गराइसकेको थियो । 

केही कानुनविद्हरू गौतम उच्चको मुख्य न्यायाधीशको हैसियतमा सर्वोच्चमा सिफारिस भएकाले उनको पद नै नरहेपछि सिफारिस पनि नरहेको बताउँछन् । तर, केही भने सिफारिस भएसँगै उच्च अदालतको पदमा कार्यरत नहुँदा अवकाश मान्य नहुने बताउँछन् ।

गौतमसँगै सर्वोच्चको न्यायाधीश पदमा सिफारिस भएका उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीको नाम पुनः संसदीय सुनुवाइका लागि समितिमा पठाउने वा नयाँ नाम पठाउनुपर्ने विषयमा दुई धार देखिन्छ । प्रतिनिधिसभा, २०७४ का संसदीय सुनुवाइ समिति सभापति तथा वरिष्ठ अधिवक्ता लक्ष्मणलाल कर्णको भनाइमा समितिको नियमावलीमा ४५ दिनपछि स्वतः नियुक्त हुने प्रावधानको उपयोग यहाँ गर्न सकिन्थ्यो । 

परिषद्ले २१ भदौ ०७९ मा न्यायाधीशका लागि सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिमा पठाएको थियो भने समितिले २८ भदौमा सिफारिस भएर आएका गौतम, शर्मा र दीक्षितविरुद्ध उजुरी आह्वान गरेको थियो । तर, १ असोजबाट प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि उनीहरूको नाम अनुमोदन हुन सकेन । 

तत्कालीन संसदीय समितिका सभापति कर्ण भन्छन्, ‘हामीले उजुरी आह्वान गरेर प्रक्रिया सुरु गरिसकेका थियौँ । त्यसपछि प्रतिनिधिसभाको कार्यकाल समाप्त भयो । एउटा त स्वतः नियुक्ति भएको मान्नुपर्ने भयो । नत्र त्यो उजुरी आह्वानको निर्णय बदर भएको छैन । फेरि सुनुवाइ प्रारम्भ गर्नुपर्ने देखिन्छ । समय नपुगेर मात्र संसदीय समितिले काम गर्न नपाएको हो नि !’

परिषद्का सहसचिव तथा प्रवक्ता मानबहादुर कार्कीले यसअघि परिषद्बाट सिफारिस भइसकेको सूची जस्ताको–तस्तै रहेको बताए । ‘यसअघि परिषद्बाट भएको तीन न्यायाधीशको नियुक्ति सिफारिस यथावत् छ । अन्य रिक्त पदमा सुनुवाइका लागि सिफारिस गर्न बाँकी छ,’ कार्कीले भने ।

हालसम्मको अभ्यास यसअघि भएको सिफारिसअनुसार नै नियुक्ति गर्ने भए पनि परिषद्का सदस्य तथा कानुनमन्त्री धनराज गुरुङले भने पुनः सिफारिस संसदीय सुनुवाइ समितिलाई पठाउनुपर्ने बताए । ‘मलाई लाग्छ परिषद्ले नै निर्णय गरेर अब पहिलेकै नाम हो कि नयाँ नाम राखेर हो, फेरि संसदीय सुनुवाइ समितिलाई पठाउनुपर्छ । जसरी नयाँ संसद् आउँदा विधेयक अन्त्य हुन्छ, त्यसैगरी पुराना समितिका कामकारबाही पनि नयाँ समिति आएसँगै अन्त्य हुने होला,’ उनले भने । स्रोतका अनुसार हाल सरकारले पुरानो सिफारिसलाई कार्यान्वयन नगर्ने रणनीति लिएको छ । 

प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेले यस विषयमा संसदीय सुनवाइ समितिले नै निर्णय गर्ने बताए । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ (२) को व्यवस्थाअनुसार सिफारिस भएका न्यायाधीशको नियुक्तिमा बाधा नपर्ने उल्लेख छ । उक्त नियममा सुनुवाइका लागि पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदका लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । तर, समितिले उक्त समयभित्र आफ्नो निर्णय उपलब्ध गराउन नसके ‘सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिको लागि बाधा’ नपुग्ने उल्लेख छ । 

‘विनासुनुवाइ नियुक्ति त यसअघि संवैधानिक परिषद् सदस्यहरूको हकमा पनि भएकै हो । तर, अन्य देशको तथा हाम्रै देशको अभ्यास र संसदीय परम्पराअनुसार एउटा सदनमा पेस भएको विधेयक वा प्रस्ताव कुनै कारणले उक्त सदनमा नटुंगिएमा अस्तित्व समाप्त हुने व्यवस्था छ । अब न्यायाधीश नियुक्तिका विषयमा समितिबाट के निर्णय होला त्यो समितिकै विषय हो,’ सचिव पाण्डेले भने । यद्यपि, ती नियुक्ति र विनासुनुवाइ नियुक्ति हुने विषयमा छुट्टाछुट्टै परेका रिटहरू सर्वोच्च अदालतमा विचाराधीन रहेका छन् । 

क्याडरबाटै नियुक्ति गर्न न्यायपरिषद्माथि दबाब : न्यायाधीश नियुक्तिमा क्याडरलाई प्राथमिकता दिन कर्मचारीदेखि पूर्वन्यायाधीशहरूको माग

न्यायपरिषद्माथि बाहिरबाट भन्दा पनि न्याय सेवा र उच्चमा कार्यरत न्यायाधीशबाटै सर्वोच्चमा नियुक्ति गर्नुपर्ने दबाब छ । जिल्ला अदालतका न्यायाधीशहरूले समेत कानुन व्यवसायी पृष्ठभूमिका व्यक्तिलाई न्यायाधीश नियुक्त गर्दा आफूहरूको वृत्तिविकासमा अवरोध पुगेको भन्दै क्याडरबाटै उच्च र सर्वोच्चमा नियुक्ति हुनुपर्ने मागसहित न्यायपरिषद् सदस्यहरूलाई पत्र बुझाएका छन् ।

उनीहरूले उच्चमा न्यायाधीश भइसकेका अनुभवीलाई मात्र सर्वोच्चको न्यायाधीश बनाउनुपर्ने तथा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति सिफारिस नगर्न परिषद्को ध्यानाकर्षण गराएका छन् । त्यस्तै, न्याय सेवाका कर्मचारीले समेत दबाब अभियान अघि बढाएका छन् । बाहिरबाट गरिने नियुक्तिले एकातर्फ न्यायालय कमजोर बनेको र अर्काेतर्फ अनुभवी न्यायाधीशको करिअरमा समेत असर परेको उनीहरूको भनाइ छ । 

त्यस्तै, पूर्वन्यायाधीशहरूले उच्च अदालतको न्यायाधीश नियुक्तिमा निष्पक्षता र न्यायिक मूल्य मान्यता पालना गर्न आह्वान गरेका छन् । बुधबार पूर्वन्यायाधीश फोरमले विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘बहालवाला जिल्ला न्यायाधीशहरूले न्याय सेवामा कार्यरत न्यायाधीशहरूको वृत्तिविकास अवरुद्ध हुन सक्ने कारण देखाई आफूलाई पर्न गएको मर्काको उपचारका लागि न्यायपरिषद्समक्ष प्रस्तुत गरेको माग न्यायोचित छन् । सो अविलम्ब पूरा गरिनुपर्छ,’ फोरमले भनेको छ ।

न्यायाधीश नियुक्तिमा बाहिरबाट भन्दा क्याडरलाई प्राथमिकता दिन जिल्ला न्यायाधीश तथा अदालतका कर्मचारीहरूले दबाब अभियान नै चलाइरहेका छन् । उच्चमा नियुक्ति गर्दा पनि जिल्ला न्यायाधीशहरूलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ । ‘सेवानिवृत्त हुन एक दुई वर्ष मात्र बाँकी रहेको जिल्ला न्यायाधीश र २० वर्षभन्दा बढी सेवा अवधि बाँकी रहेको व्यक्तिलाई एकैपटक नियुक्ति गरिएकाले केही वर्षभित्रै उच्च अदालतमा जिल्ला अदालतबाट नियुक्ति भएका न्यायाधीशको शून्यता रहने र कम उमेर समूहका व्यक्तिको वर्चस्व कायम हुने अवस्था देखिन्छ,’ जिल्ला न्यायाधीशहरूले परिषद्मा बुझाएको पत्रमा उल्लेख छ ।

सुझावित समाचार