महान् योद्धा अलेक्जेन्डर युद्धमा जाँदा कहिलेकाहीँ आफ्ना गुरु अरिस्टोटललाई पनि साथमै लिएर जाने गर्थे । एकपटक एउटा युद्ध चलिरहेको समयमा गुरुचेला साथै थिए । सो लडाइँमा अलेक्जेन्डरले विजय पनि प्राप्त गरे । सो युद्धमा विजय प्राप्त गरिसकेपछि अलेक्जेन्डर आफ्ना गुरु अरिस्टोटलका साथमा आफ्नो राजधानीतिर फर्किरहेका थिए । ठुल्ठूला पहाड र घना जंगल पार गर्दै उनीहरू आफ्नो राजधानीतिर फर्किरहेका थिए ।
बाटोमा एउटा गहिरो खोला आयो । खोला कति गहिरो छ, अनुमान गर्न कठिन थियो । होसियारी नअपनाई पार गर्ने मूर्खता गर्दा ज्यान पनि जान सक्थ्यो । त्यसैले अरिस्टोटलले अलेक्जेन्डरलाई भने, ‘यो खोला पहिले म पार गर्नेछु अनि खोलाका धार र गहिराइ बुझेर म तिमीलाई संकेत दिन्छु, तब मात्र तिमीले पार गर्नू ।’
तर, अलेक्जेन्डरले गुरुको आज्ञाको पालना गरेनन् । उनी अलिकति पनि सोचविचार नगरी खोलामा हेलिए र कठिनसँगै खोला पार गरे । अलेक्जेन्डरको यस्तो व्यवहारबाट गुरु अरिस्टोटल निकै रिसाए । रिसाएका अरिस्टोटलले अलेक्जेन्डरलाई भने, ‘आजसम्म तिमीले मेरो आज्ञाको अवज्ञा गरेका थिएनौ, फेरि आज अचानक तिमीलाई के भयो ? के विश्वविजयी बन्दै गएको उन्मादमा तिमीले आफूभन्दा ठूलाले भनेको मान्नुपर्छ भन्ने पनि बिर्सियौ ?’
अलेक्जेन्डरले बडो नम्रताले टाउको झुकाएर रिसाएका गुरुलाई भने, ‘गुरु, यदि यो अनजान खोला पार गर्दा तपाईंलाई केही भइहालेको भए त्यस्तो अवस्थामा मैले तपाईंजस्तो अर्को गुरु पाउने थिइनँ । तर, यदि म डुबेको भए तपाईंले आफ्नो ज्ञानले मजस्ता धेरै अलेक्जेन्डर तयार पार्न सक्नुहुन्थ्यो । त्यसैले मैले पहिला आफ्नो ज्यान जोखिममा हालेको हुँ ! हजुरको आज्ञा उल्लंघन गरेकामा मलाई माफ गर्नुहोस् गुरु !’ अलेक्जेन्डरको जवाफ सुनेपछि खुसी भएका अरिस्टोटलले उनलाई अँगालो हाले ।