साढे चार हजार परिवारले उपभोग गर्ने खानेपानी योजना अलपत्र

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको गौरव कार्यक्रम ‘इन्द्रावती बृहत् खानेपानी योजना’ मुहानवासीको अवरोधले अलपत्र परेको छ। गत वर्ष सम्पन्न हुनुपर्ने योजनाको ८० प्रतिशत काम सकिएपछि अलपत्र भएको हो। 

वडा नं. १ सिंपाल र भिरखर्कबाट ल्याउन लागेको खानेपानी वडावासीले अवरोध गरेकाले अलपत्र अवस्थामा रहेको गाउँपालिका अध्यक्ष झम्क नेपालले बताए। ‘खानेपानीको अभाव झेलिरहेका चार हजार पाँच सय घरपरिवारका लागि यो बृहत् योजना हो,’ उनले भने, ‘पूर्वाधारको ८० प्रतिशत काम सकेर पनि पानी ल्याउन सकिएन।’ यो योजनाका लागि संघीय सरकारले ३५ करोड विनियोजन गरेको छ।

मुहान क्षेत्रमा पर्ने वडा नं. १ का अध्यक्ष चिनलाल तामाङसहित बसेको सर्वदलीय बैठकले स्थानीयको माग पूरा नभएसम्म खानेपानी नदिने निर्णय गरेकाे छ। यहाँका स्थानीयले वडाको मुख्य सडक लहरेमाने–छहरे–भिरखर्क मोटरबाटो कालोपत्रे गर्नुपर्ने, एक घर एक धारा दिनुपर्ने, स्थानीय रोयल्टी तोक्नुपर्ने, बिजुलीको नांगो तार हटाएर कालो तार जडान गर्नुपर्ने, किसानका लागि चिस्यान केन्द्र निर्माण गर्नुपर्नेलगायत माग राखेका छन्।

गत वर्ष संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि बसेर मुहानवासीको माग सम्बोधन गर्ने सहमति भएको थियो। तर, दुई वर्ष बित्दा पनि कुनै माग सम्बोधन नभएकाले अवरोध गरेको स्थानीय जिमी लामाले बताए।

मुहान क्षेत्रमा प्रवेश गर्न खोजेका सरकारी कर्मचारी र कामदारलाई स्थानीयले अवरोध गर्दै आएका छन्। मुहान क्षेत्रबाहेक अन्यत्र पाइप जडान र ट्यांकी निर्माण सकिएको छ। निजी घर र सार्वजनिक स्थानमा धारा फिटिङको काम सुरु भएको छ। गाउँपालिकाभित्र रहेको स्रोत स्थानीय सरकारले निर्णय गरेपछि निःसर्त उपभोग गर्न पाउनुपर्ने अध्यक्ष नेपालको भनाइ छ। तर, वडाध्यक्षसहित मुहान क्षेत्रका बासिन्दाले माग सम्बोधन नभए पानी नपठाउने अडान राखेका छन्।

सुझावित समाचार