प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरूमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ०७९ साउन महिनादेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताए। उनले सोमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरूमा मौज्दात रहेको बताए।
त्यस्तै, यही महिनाभित्र भारतको काेलकाताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उनले जानकारी गराए। प्रधानमन्त्री दाहालले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने बताए।
उनले भने, ‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षहरूमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु। ०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। त्योमध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोहरूमा मौज्दात रहेको छ। भारतको काेलकाताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिनाभित्र नेपाल भित्रिने व्यवस्था गरिएको छ। धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था यसपटक रहेको छैन। सुरुमा रासायनिक मलका लागि रु. १५ अर्ब विनियोजन भए पनि थप रु. २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ।’
प्रधानमन्त्री दाहालले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको बताए।