प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आए पनि नेपालको भौगोलिक अवस्थाका कारण सोचेअनुरूपको विकास हुन नसकेको बताए। सरकारी कामकारबाहीहरू म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेको उनको भनाइ छ।
‘सरकारी कामकारबाहीहरू म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म हामीले खोजेको सुशासनमुखी नेपालको विकास गर्न सम्भव छैन । सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी कामकारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रा प्रयासहरू केन्द्रित छन् । पारदर्शिता र जवाफदेहितासँगै सुशासनका लागि पनि डिजिटल प्रविधि र यसको प्रयोग महत्वपूर्ण छ,’ उनले भने।
सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा समेत जनअपेक्षाअनुरूप सरकारको भूमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रूपले उपयोग गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औँल्याए।