च:मती जग्गा एकीकरण आयोजना : पाँच वर्षमा सक्नुपर्ने आयोजना २० वर्षमा पनि अधुरै हस्तान्तरण हुँदै

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

२० वर्षपछि चःमती जग्गा एकीकरण आयोजना स्थानीयलाई हस्तान्तरण हुने चरणमा पुगेको छ । काठमाडौं महानगरअन्तर्गत चःमती जग्गा एकीकरण आयोजनाका अनुसार असार मसान्तमा हस्तान्तरण हुने गरी काम भइरहेको छ । ‘आयोजनाको काम लगभग सकिएको छ । ९० प्रतिशतभन्दा धेरैलाई पुर्जा वितरण गरिसकेका छौँ । अब हामी हस्तान्तरणको प्रक्रियामा जाँदै छौँ । जम्मा जग्गाको ८० प्रतिशत घडेरी लैजानु भनेको त्यो आयोजना सफल हुनु हो । तर, यहाँ त ९० प्रतिशतभन्दा धेरैले पुर्जा लगिसक्नुभएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले भने, ‘मेयरसाबको एजेन्डा भनेको छिटोभन्दा छिटो आयोजना हस्तान्तरण हुनुप¥यो भन्ने छ । त्यसैले असार मसान्तमा हस्तान्तरण गर्ने गरी काम भइरहेको छ ।’

कुल १३ सय ६९ रोपनी क्षेत्रफल रहेको आयोजनाको ७२ प्रतिशत आवासीय क्षेत्र हो । जसमध्ये सडक २४.४७ प्रतिशत रहेको छ । पार्क तथा खुला क्षेत्र २, धार्मिक तथा सांस्कृतिक क्षेत्र ०.५०, भचाखुसी खोला १.०३ प्रतिशत रहेका छन् । यो आयोजना सरकारबाट ५ वैशाख ०६० मा स्वीकृत भएको थियो । सोही सालको १ मंसिरमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएर काम सुरु भएको थियो । अयोजनामा १७ वटा ब्लक छन् । ५ देखि ६ वर्षभित्रै काम सम्पन्न गर्ने गरी आयोजना सुरु भएको थियो । 

आयोजनाअन्तर्गतका विभिन्न कित्तालाई एकीकरण गरी सो जग्गामा योजनाअनुरूप भौतिक विकासका लागि हरेक प्लटबाट निश्चित प्रतिशत जग्गा कट्टा गरी बाटो, ढल, खुला क्षेत्र राखिएको छ । विकसित घडेरी साबिककै जग्गाधनी वा मोहीलाई समानुपातिक आधारमा फिर्ता गरिएको छ । आयोजनाभित्रै पर्ने भचाखुसी खोलालाई व्यवस्थित गरिएको छ । जसबाट स्थानीयवासीले बर्खामा भोग्ने समस्या समाधान भएको र विष्णुमती नदीलाई रिटेनिङ वाल लगाई व्यवस्थित गरिएको छ । 

अझै बन्न बाँकी छन् यी संरचना
आयोजना छिटो हस्तान्तरण गर्ने महानगरका मेयर बालेन्द्र साहको चाहना भए पनि आयोजना क्षेत्रभित्र अझै धेरै संरचना बन्न बाँकी छ । नेपाली सेनाको स्वयम्भूस्थित बारुदखानाको कम्पाउन्डभित्रबाट जानुपर्ने आयोजनास्थलको ३ र ६ मिटर बाटो निर्माण भइरहेको छ । यो बाटो सम्पन्न हुन अझै १५ दिन लाग्ने अवस्था छ । आयोजना क्षेत्रभित्र सिसिटिभी जडान बाँकी छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसँग समन्वय गरेर सिसिटिभी राखिनेछ । यसका लागि प्रहरी कार्यालयमा इस्टिमेट पठाइसकेको छ । आयोजनाले गरेको इस्टिमेटअनुसार सडकबत्ती राख्न ४० लाख ५५ हजार लाग्नेछ । १० वटा पार्क बनाउनका लागि डिजाइन फाइनल मात्र भएको छ । आयोजनाभित्रै दुईवटा प्रशासनिक भवन निर्माण बाँकी छ । भवन निर्माणका लागि टेन्डर प्रक्रियामा छ ।

यसकारण आयोजना ढिलो
आयोजना ढिलो हुनुको कारणमध्ये सुरुवाती दिनमा केही स्थानीय आयोजनाविरुद्ध सर्वोच्व अदालत पुग्नु पनि हो । करिब तीन वर्ष (मुद्दा चलिन्जेल) आयोजनाको काम शून्य अवस्थामा रह्यो । कसैलाई विस्थापित पनि नगर्नु, आयोजना पनि अगाडि बढाउनु भन्ने सर्वोच्चको फैसलापछि आयोजनाको काम सुरु भएको थियो । यसबीचमा जनप्रतिनिधि नहुनु, आयोजना प्रमुख पटक–पटक फेरिनु, ऐन–कानुनी झन्झटका कारणसमेत आयोजनाले गति लिन सकेन । प्रमुख बरालले भने, ‘कार्यविधि संशोधनका लागि भनेर पटक–पटक प्राधिकरणमार्फत मन्त्रालयमा पठायौँ । उहाँहरू प्रक्रियामा छ मात्र भन्नुहुन्छ । यसकारण पनि आयोजना हस्तान्तरणमा ढिलाइ भइरहेको हो ।’

२६ करोड लागतको आयोजना ६२ करोडभन्दा बढी खर्च
आयोजनाको लागत ०५९/६० अनुसार २६ करोड थियो । जुन ०६२/६३ मा बढेर ६२ करोड पुगेको थियो । महानगरले यसको लागत अझै निकाल्नै बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भू भगवानपाउ–वनस्थली सडक पर्छ भने उत्तरमा बालाजु–वनस्थली चक्रपथ र दक्षिणमा स्वयम्भू–भगवानपाउ–बिजेश्वरी हुँदै शोभाभगवती मन्दिरसम्म फैलिएको छ । ०५६ सालमै सुरु भएको यो आयोजना चःमतीभन्दा पुरानो हो । आठ सय ५० रोपनीमा फैलिएको यो आयोजना पनि असारमै हस्तान्तरण हुने आयोजनाले जनाएको छ ।

सुझावित समाचार