अन्तर्जातीय विवाहका कारण दलित युवक या युवतीको ज्यानै जाने या जेल पर्ने जस्ता घटना किन दोहोरिइरहन्छन् होला ?
कानुन कार्यान्वयन गर्ने संस्थाका पदाधिकारीले बुझ्ने हो भने यस्ता घटना नदोहोरिनुपर्ने हो । सामान्यतः युवा–युवतीबिचको प्रेम सम्बन्धलाई हाम्रो समाजले स्विकार्न नसकेपछि उनीहरूले भागेर बिहे गर्छन् । तर, पछि युवतीको उमेर नपुगेको कारण देखाएर केटालाई अपहरण या बलात्कार मुद्दा लगाइएका घटना धेरै छन् । कैयौँले त अन्तर्जातीय विवाहकै कारण ज्यानसमेत गुमाएका छन् । कानुन कार्यान्वयन गर्ने निकायका पदाधिकारीले बुझिदिने हो भने यस्ता घटनामा कमी आउन सक्छ ।
एउटा अदालतले ‘कोर्ट म्यारिज’को प्रमाणपत्र दिने र अर्को अदालतले अपहरण मुद्दामा जेल पठाउने घटनाबारे के भन्नुहुन्छ ?
विवाहित युवतीको जन्मदर्ता सक्कली हो या नक्कली भनेर सुरु अदालतले नै छानबिन गरेको हुनुपर्ने हो । उसले एउटा जन्मदर्तालाई आधार मानेर विवाह दर्ताको प्रमाणपत्र दिइसकेपछि दोस्रो अदालतले पनि त्यसलाई आधार बनाउनुपर्ने हो । दुई फरकफरक जन्मदर्ता देखिसकेपछि कुनचाहिँ सक्कली हो भनेर अदालतले छानबिन गराउनुपर्ने हो ।
यस्ता घटना दोहोरिन नदिन के गर्नुपर्ला ?
विवाहसम्बन्धी कानुनमा संशोधन जरुरी छ । १६ वर्षमा नागरिकता पाउने र १८ वर्षमा मतदानको अधिकार पाउने नागरिकले विवाहका लागि भने २० वर्षसम्म कुर्नुपर्ने कानुनी प्रावधान संशोधन गर्न सकियो भने पनि केही हुन सक्छ । अन्तर्जातीय विवाहबारे नागरिक शिक्षाको खाँचो छ । अनि, कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीले पनि यसबारे अडान लिने हो भने केही सुधार हुन सक्छ ।