चालू आर्थिक वर्ष ०७९/८० को जेठमा एक खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यो चालू आवकै सबैभन्दा बढी सामान आयात भएको महिना भएको छ । यो महिना आयातबाट सरकारले ३५ अर्ब ५८ करोड ९७ लाख राजस्व प्राप्त गरेको छ । यसअघि चैतमा एक खर्ब ४३ अर्ब १२ करोडबराबरको वस्तु आयात भएको थियो । तर, वैशाखमा एक खर्ब ३३ अर्ब ८१ करोडमा सीमित भएको थियो ।
१६ प्रतिशत घट्यो आयात
जेठ मसान्तसम्म नेपालको कुल वस्तु आयात १४ खर्ब ८० अर्ब ९८ करोडबराबरको पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले कम हो । गत आवको जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोडको आयात भएको थियो । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण नेपालमा आयात बढ्न सकेको छैन । बाह्य क्षेत्रमा परेको चाप र घट्दो विदेशी मुद्रा सञ्चितिलाई लक्षित गर्दै आर्थिक वर्षको सुरुवाती महिनाहरूमा केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको थियो । तर, पुसबाट सरकारले उक्त प्रतिबन्ध हटाए पनि महँगीलगायतका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । यसरी बजारमा माग घट्दा आयात बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।
आयात राजस्व संकलन पनि घट्यो
चालू आवको ११ महिनामा आयातबाट सरकारले तीन खर्ब ४४ अर्ब तीन करोड २७ लाख राजस्व संकलन गरेको छ । जुन गत आवको तुलनामा २३ प्रतिशतले कमी हो । गत आवको समीक्षा अवधिमा १७ खर्ब ६३ अर्बको वस्तु आयात हुँदा चार खर्ब ४६ अर्ब ७९ करोड ३६ लाख राजस्व संकलन भएको थियो । तर, चालू वर्ष आयात घट्दा राजस्व संकलन पनि उच्चदरमा घटेको छ । तथ्यांकअनुसार यो वर्ष आयातमार्फत हुने राजस्व संकलन एक खर्ब दुई अर्ब ७६ करोडले घटेको देखिन्छ ।
नेपाल सरकारको आम्दानी नै राजस्वमा निर्भर छ । त्यसमा आयातमार्फत हुने राजस्वमै सरकारको आम्दानी बढी निर्भर छ । समीक्षा अवधिमा सरकारले सात खर्ब ५९ अर्ब रुपैयाँ कर राजस्व संकलन गरेको छ । त्यसको ४५.३२ प्रतिशत अर्थात् तीन खर्ब ४४ अर्ब राजस्व भने आयातमार्फत संकलन भएको छ । यसरी आयात घट्नुलाई सकारात्मक रूपमा लिए पनि राजस्व संकलनमा प्रभावित हुने गरेको जानकारहरू बताउँछन् ।
घट्यो निर्यात
समीक्षा अवधिमा नेपालको निर्यात पनि झन्डै २३ प्रतिशतले घटेको छ । गत आवको ११ महिनामा एक खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । अहिले त्यो घटेर एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ । जेठमा मात्रै भने १२ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
गत आवहरूमा नेपालबाट भारततर्फ प्रशोधित पाम, सोयाबिनको तेल उच्चदरमा निर्यात हुन्थ्यो । भारतले नेपालबाट उक्त तेलहरू आयात गर्दा ५ प्रतिशत र अन्य देशबाट आयात गर्र्दा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको थियो । तर, अहिले भारतले अन्य देशबाट पाम र सोयाबिन तेल आयात गर्दा पनि ५ प्रतिशत नै भन्सार लाग्ने व्यवस्था गरेको छ ।
नेपाली व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारतमा निर्यात गर्थे । जसले गर्दा लागत भने बढी हुन्छ । तर, अन्य देशबाट आयात गर्दा भन्सार तिर्नुपर्ने भएपछि नेपालबाटै आयात गर्दा सस्तो पर्ने थियो । अहिले भारतले अन्य देशबाट आयात गर्दा लाग्ने भन्सारदर घटाएपछि नेपालको तेल स्वतः महँगो हुन गएको छ । फलस्वरूप पछिल्लो समय त्यस्तो तेलको निर्यात उच्चदरमा घटेको छ । सोही कारण नेपालको समग्र निर्यात पनि घटेको हो ।
कति छ व्यापार घाटा ?
समीक्षा अवधिमा नेपालको व्यापार घाटा १५.२१ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधिमा व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । यसपालि त्यो घटेर १३ खर्ब ३७ अर्ब ३९ करोड रपैयाँमा सीमित भएको हो । विशेष गरी आयात घट्दा व्यापार घाटा पनि कम भएको जानकारहरू बताउँछन् ।
विद्युतीय गाडीको आयात उच्च
जेठमा विद्युतीय गाडीको आयात चालू आवकै उच्च देखिएको छ । जेठमा नौ सय १५ वटा विद्युतीय गाडी आयात भएका छन् । यसअघि वैशाखमा पाँच सय चारवटा विद्युतीय गाडी आयात भएका थिए । त्यसभन्दा पहिला भने मासिक तीन सयवटा हारहारी विद्युतीय गाडी आएका थिए । तर, वैशाख र जेठमा भने यसको आयात उच्च छ । जेठको पहिलो साता र वैशाखमा उच्चदरमा यस्तो गाडी आयात भएको बताइएको छ ।
सरकारले आगामी आवका लागि १५ जेठमा ल्याएको बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार बढाइएको छ । यद्यपि, सयदेखि दुई सय किलोवाट क्षमताको विद्युतीय गाडीमा लाग्ने कर भने घटेको छ । यसरी कर बढाउने वेलामा उच्चदरमा गाडी आयात हुनुलाई शंकास्पद रूपमा हेरिएको छ ।
एलसी खोलेर वस्तु आयात हुन झन्डै दुई महिना लाग्छ । नाडा अटोमोबाइल्सका एसोसिएसनका अध्यक्ष ध्रुव थापाले कर बढ्ने डरले गाडीको आयात बढाइएको बताए । ‘सरकारले कर बढाउने डरमै पहिलादेखि नै तयारी गरेर यसको आयात बढाएका हौँ । यो स्वाभाविक हो । यद्यपि, कर बढ्छ भन्ने भित्री सूचना पाएर गाडीको आयात गरेको होइन,’ उनले भने, ‘सरकारले १०० देखि २०० केभीसम्मका गाडीको कर घटाएको छ । तर, हामीले त्यसको पनि आयात गरेका छौँ । त्यसैले यसबारे गलत सोच्नुको अर्थ छैन ।’ व्यवसायीहरू कर बढ्छ भनेर ढुक्क भएरै पहिला नै गाडी आयात गरेको उनको भनाइ छ ।
तथ्यांकअनुसार जेठसम्म तीन हजार आठ सय ७० वटा विद्युतीय गाडी आयात भएका छन् । ११ अर्ब २३ करोड ७३ लाख रुपैयाँको उक्त गाडी आयात भएको हो । गत आवको सोही अवधिमा पाँच अर्ब पाँच करोड १६ लाख रुपैयाँको १७ सय चारवटा यस्तो गाडी आयात भएका थिए । विशेष गरी विद्युतीय गाडीको माग बढ्दा आयात पनि बढाइएको थापाको भनाइ छ ।