स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट पाल्पाकाे रामपुर अस्पताललाई पाँचवटा डायलाइसिस मेसिन प्राप्त भएको छ । ५० शय्याको अस्पताल रहेको यस अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले पाँचवटा डायलाइसिस मेसिन र एकसेट आरओ प्लान्टसहित ७८ लाख ७३ हजार पाँच सय ९९ बराबरको सामग्री प्रदान गरेको छ ।
महाशाखाको कार्यालय टेकु काठमाडौंबाट महाशाखा प्रमुख डा. सर्वेश शर्माले रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र मेडिकल सुपरिटेन्डेन्ड डा. विजय परियारलाई हस्तान्तरण गरेका हुन् ।
कालीगण्डकी करिडोरसँग जोडिएकाले पछिल्लो समय यस अस्पतालमा बिरामीको चाप बढ्दो छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरसुस्ता पूर्वका बासिन्दाले सेवा लिने ठूलो अस्पतालका रूपमा रामपुर अस्पताल रहेको छ ।
बिरामीलाई स्वास्थ्योपचारमा सहज सेवा दिन र डायलाइसिस गर्ने बिरामीलाई रामपुर अस्पतालबाटै सेवा उपलब्ध गराउन मागका आधारमा सामग्री उपलब्ध भएको अस्पताल विकास समितिका अध्यक्ष ढकालले बताए । हाल यस अस्पतालमा दैनिक तीन सय ५० भन्दा बढी बिरामीले सेवा लिँदै आइरहेका छन् ।