नेपालका लागि मोदी–बाइडेन भेटवार्ताको के महत्व छ ?
नेपालमा सामरिक रुचि भएका देशहरूको उच्चस्तरीय भेटमा नेपालबारे गम्भीर विमर्ष र गह्रुंगा समझदारी हुने गरेका छन् । सन् १९७५ मा राष्ट्रपति फोर्ड र चीनियाँ उपप्रधानमन्त्री देंगबिच भएको कुराकानी तथा सन् २०१५ मा प्रधानमन्त्री मोदी र ब्रिटिस प्रधानमन्त्री क्यामरुनबीचको समझदारीको हेक्का नेपाल सरकारले राख्नुपर्छ । जानकारी लिएर मूल्यांकन गरी उचित सम्बोधन गर्ने शासकीय दक्षता देखाउन चुक्नु हुँदैन ।
यसबाट नेपाललाई पर्ने प्रभाव के हो ?
अमेरिकी सामरिक चिन्तन र योजना चीनकेन्द्रित हुनु र ‘भारतलाई २१औँ शताब्दीको महत्वपूर्ण द्विपक्षीय सम्बन्ध’ मान्नुले गुरुत्व प्रस्ट हुन्छ । ७६ वर्ष लामो कूटनीतिक सम्बन्धमा अमेरिकाले भारतका दोस्रो प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा निम्त्याउनुले यसको महत्व बताइसकेको छ । मोदी र बाइडेनबीच हुने वार्ता, बन्ने समझदारी तथा हस्ताक्षर हुने सम्झौताले अमेरिका र चीनबीचको प्रतिस्पर्धामा धार थप्नेछ, दिल्ली र बेइजिंगबीचको द्वन्द्व बढाउनेछ । यसको कूटनीतिक, राजनीतिक र सामरिक राप खप्न नेपाल बाध्य हुनेछ ।
प्रस्टसँग भन्नुस् न, नेपालले के गर्नुपर्छ ?
‘यस भ्रमणबाट दुई देशको सम्बन्धमा नयाँ मानक स्थापित हुने’ सम्बन्धलाई भविष्यको लय अनुकुल ‘हृष्टपुष्ट बनाउने’ दस्ताबेज जारी हुने अमेरिकाले बताएको छ । वासिंगटन र दिल्लीको चीननीति नेपालसँगको सम्बन्धमा प्रतिध्वनित हुन थालेको र नेपालको आन्तरिक राजनीति भारत, चीन र अमेरिकाको पक्ष विपक्षमा ध्रुवीकरण भइरहेको अवस्थामा भारत, चीन र अमेरिकाबीचको द्वन्द्वबाट जोगिने र तीनै देशको विश्वास आर्जन गर्ने कूटनीतिक सिप र शासकीय दक्षता नेपालले सिद्ध गर्नुपर्छ ।