पाठेघरको क्यान्सरबाट पीडित आफ्नी आमाको उपचारमा सहयोगका लागि १५ वर्षीया बालिकाले अपिल गरेकी छिन्। नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ८ तल्लो भँगेरीकी अस्मिता फुँयालले आमा कमला फुँयालको उपचारका लागि आर्थिक सहयोग गर्न आग्रह गरेकी हुन्।
हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ९ काँडाघारी बस्दै आएकी कमलाको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। पाठेघरको क्यान्सर पिसाबनलीसम्म फैलिसकेकाले अपरेसन मात्रले नहुने भएपछि ३० पटक केमो गर्नुपर्ने डाक्टरले बताएकाे कमलाले बताइन्। त्यसका लागि ८५ हजार रुपैयाँ डिपोजिट राख्न भनिएको छ।
दैनिक मजदुरी गरी परिवार पालिरहेका श्रीमानको तीन वर्षअघि हृदयघातका कारण मृत्यु भएपछि तीन नाबालक सन्तानकाे पालनपोषण र शिक्षा दीक्षा गर्दै आएकी उनले उपचार खर्च जुटाउन निकै गाह्रो भएको पीडा पोखिन्। जेठी छोरी १५ वर्षकी, माइली छोरी १३ वर्षकी र छोरा १० वर्षका छन्।
उपचार खर्चमा सहयोग गर्न इच्छुक सहयोगी मनहरूलाई कमला फुँयालको मोबाइल नम्बर ९७४९७१०४७५ मा सम्पर्क गर्न वा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, पेप्सिकोला शाखामा रहेको खाता नं ०७९०५०८०२६०१७६ मा रकम जम्मा गर्न अस्मिताले आग्रह गरेकी छिन्।