अघिल्लो संस्करणको पराजय भुलाउँदै स्पेनले युइएफए नेसन्स लिग २०२३ को उपाधि उचालेको छ । गोलरक्षक युनाई सिमोन नायक बन्दा स्पेन क्रोएसियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । दुवै टिमले पाँच–पाँच पेनाल्टीमा चार–चार गोल गरेपछि नतिजा सडनडेथमा पुगेको थियो ।
रेगुलर टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्काे एसेन्सियोले शतप्रतिशत नतिजा निकाल्दा एमेरिक लापोर्टालेका लागि क्रसबार बाधक बन्यो ।
क्रोएसियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिच गोल गर्न सफल भए भने लोभ्रो माजेरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले बचाए ।
सडनडेथमा भने स्पेन भाग्यमानी बन्यो । क्रोएसियाका ब्रुनो पेटकोभिचको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले पञ्च गर्दै बाहिर पन्छाइदिए । त्यसपछि पेनाल्टी हान्न आएका स्पेनका ड्यानिल कार्भाजलले बललाई सहजै जाली चुमाएपछि स्पेनले उपाधि चुम्यो ।
स्पेन विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि फ्रान्सले विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जितेको थियो ।
(एजेन्सीकाे सहयाेगमा)