समाजवादी मोर्चा अधिकारका पक्षधरविरुद्ध लक्षित छैन : प्रधानमन्त्री प्रचण्ड

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण
समाजवादी मोर्चा अधिकारका पक्षधरविरुद्ध लक्षित छैन : प्रधानमन्त्री प्रचण्ड

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा देशलाई निरंकुशतातिर फर्काउन चाहनेविरुद्ध मोर्चाबन्दी भएको बताएका छन् । 

राष्ट्रिय सभागृहमा सोमबार आयोजित समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चा संघीय गणतन्त्रका पक्षधरहरूप्रति परिलक्षित नरहेको बताए । 

‘यो मोर्चा परिवर्तनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको अधिकारका पक्षधरहरूका विरुद्ध परिलक्षित छैन,’ प्रचण्डले भने, ‘सबैलाई समेटेर राष्ट्रिय एकता, स्वाधीनता र जनताका हकअधिकारलाई सुनिश्चित गर्दै समाजवादको नयाँ युगतिर लैजाने गम्भीर जिम्मेवारीबोधसहित यो मोर्चा गठन भएको हो ।’

विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाउँदा असफलता मिलेको भन्दै उनले अहिले त्यहीँबाट सिकेर चारवटा दलहरूबीच एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट मोर्चालाई अघि बढाउने निर्णयमा पुगेको बताए । 

हिजोका तितामिठा अनुभवको समीक्षा गर्दै नयाँ शिराबाट एउटै मोर्चामा आउनुपर्ने भन्दै उनले आह्वान पनि गरे । उनले नेकपाले आर्थिक–सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिएको भए पनि जनताको अपार समर्थनका बाबजुद दुर्भाग्यवश नेकपा बचाउन नसकेको स्मरण गरे । 
 

सुझावित समाचार