बाढीपहिरोले मौवाखोला गाउँपालिकामा पाँच लघुजलविद्युत् र ६ खानेपानी आयोजनामा क्षति

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

गएरातिको वर्षाका कारण आएको पहिरोले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँचवटा लघुजलविद्युत् आयोजना बगाएको छ।

गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेको कुनै लघुजलविद्युत् आयोजनाको पावरहाउस बगाएको छ भने कुनै आयोजनाको पूरै संरचना बगाएको छ। गाउँपालिकाको ४ नम्बर वडामा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रोको पूरै संरचना बगाएको छ।

त्यस्तै, ३६ किलोवाटको याम्फेवा हाइड्रको पावरहाउससहित सबै संरचनामा क्षति भएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए। यता ३२ किलोवाटको माङमाया १ र ६४ किलोवाटको माङमाया २ माइक्रो हाइड्रो पूर्ण रूपमा क्षति भएको छ। सोही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघुजलविद्युत् आयोजनासमेत पूर्ण रूपमा बगाएको अध्यक्ष वनेमले बताए।

गाउँपालिकाभित्रका लघुजलविद्युत् आयोजना बगाउँदा गाउँपालिकामा विद्युत् र विद्युतजन्य अन्य सेवाहरू अवरुद्ध भएका छन्। ठाडेखोला लघुजलविद्युत् आयोजनामा कार्यरत अपरेटर भीमबहादुर तामाङ घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ।

बाढी र पहिरोका कारण यस क्षेत्रमा ६ वटा खानेपानी आयोजनामा समेत पूर्ण क्षति पुगेको छ। साँघुपाटी, कोलडाँडा, मैवाखोला– ४ गौडे, बुङधक तुम्बे–नेरा, चप्लिङ र मजुवा ताम्राङ बृहत् खानेपानी आयोजनामा क्षति पुगेको हो।

बाढीले यता मदन भण्डारी राजमार्गअन्तर्गत मैवाखोला– २ र ३ जोड्ने माङमाया खोलामा रहेको मोटरेबल पुल बगाएको छ । साथै माणमाया खोला, भालुढुंगा र खार्ते खोलाका झोलुंगे पुलसमेत पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। मैवाखोला– १ र मेरिङ्देन जोड्ने खोलाको झोलुंगे पुलमा पनि क्षति पुगेको छ। केन्द्रीय प्रसारण लाइनको पोल ढल्दा मैवाखोलाको केन्द्र साँघुमा विद्युत् अवरुद्ध बनेको छ। नेरुवा खोलाको काठेपुल र माङमाया खोला सुन्तलेनजिकैको झोलुंगे पुल पनि बाढीले बगाएको छ ।

सुझावित समाचार