प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संखुवासभाको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा आउने भएका छन् । आज (सोमबार) प्लेनमार्फत तुम्लिङटार विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । प्रधानमन्त्रीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत आउने बताए ।
उक्त टोलीमा संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद दीपक खड्का, प्रदेश सभा सदस्य राजेन्द्र कार्कीलगायत आउने कार्यतालिका भएको कार्कीले बताए। शनिबार राति आएको बाढीले संखुवासभामा हालसम्म एकजनाको ज्यान लिएको छ भने २१ जना बेपत्ता बनाएको छ। कराेडौँ रुपैयाँबराबरको भौतिक क्षति भएको छ ।
पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलामा आएको बाढीले सुपर हेवा हाइड्रोपावर कम्पनीमा कार्यरत १८ जना, सभापोखरीका दुईजना र नुनढाकीमा एकजना गरी कुल २१ जना बेपत्ता भएको हो । उनीहरूकाे खोजीकार्य भइरहे पनि हालसम्म काेही नभेटिएको संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।