उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको स्वीकार गरे।
देश विकास हुन नसक्दा आमजनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्नेमा उनले जोड दिए। गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको औँल्याए।
‘हामीले भनेजस्तो रूपमा कार्यभार निभाउन सकेका छैनौँ। त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताका साथ लिएर हामी अघि बढ्नुपर्छ। त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनुपर्छ,’ उनले भने, ‘जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरू र नेताहरू बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ। देश बदल्ने कुरा पार्टी र नेताहरू नबदलीकन हुँदैन भन्ने जनताको चाहना छ।’