नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राजनीतिक नेतृत्व र पार्टीहरूमाथि समाज आलोचक बन्दै गएको र प्रश्नहरू उठेको बताएका छन्।
चीनमा चार महिना लामो उपचारबाट स्वदेश फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पार्टी नेता–कार्यकर्ता र शुभचिन्तकहरूसँग कुरा गर्दै उनले दल र नेताहरूले आलोचनालाई नकारात्मक रूपमा लिन नहुने उल्लेख गरे । लोकतन्त्रमा जनताको प्रश्नभन्दा बाहिर कोही पनि हुन नसक्ने भन्दै उनले आफूमाथिका प्रश्नहरूको राजनीतिक दल र नेताहरूले व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने तर्क गरे।
राजनीतिक दल र नेताहरू नयाँ अग्निपरीक्षामा रहेको भन्दै पुनले जनताका एक–एक प्रश्न र आशंकाहरूको जवाफ सबैले दिनुपर्ने बताए। ‘नेपाली समाज आलोचक बन्दै गएको छ । राजनीतिमाथि, नेताहरूमाथि र राजनीतिक दलहरूमाथि प्रश्न उठेको छ । प्रश्न उठ्नु नराम्रो होइन,’ उनले भने, ‘तर, प्रश्नहरूको सकारात्मक जवाफ दिनु राजनीतिक दल र नेताहरूको कर्तव्य हो । राजनीतिक व्यवस्थाको कर्तव्य हो । व्यवहारबाटै त्यसको जवाफ दिइनुपर्छ। राजनीतिक व्यवस्था, दल र नेताहरूको औचित्यता साबित गर्न सक्नुपर्छ। यो हाम्रो दायित्व हो।’
व्यवस्था बदलेका राजनीतिक दल र नेतृत्वसँग जनताले अवस्था बदलियोस् भन्ने अपेक्षा राख्नु सर्वथा गलत नहुने पुनको तर्क थियो। मुलुकको अवस्था बदल्न सबै राजनीतिक दल र नेताहरूको ध्यान तीव्र आर्थिक वृद्धिमा हुनुपर्ने उनले औँल्याए।
पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा नयाँ र राम्रा कामको थालनी गरेको भन्दै प्रशंसा गरे । राम्रा कामहरूका कारण सरकारप्रति जनसमर्थन रहेको उनको दाबी छ।
पुन शुक्रबार चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत नेपाल आएका हुन्। उनको साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छिन् । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो। उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।