रामेछापको मन्थली नगरपालिका– १३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन सञ्चालनमा आएको छ।
रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो। सबस्टेसनमा ३० एमभिए क्षमताका दुईवटा र ३३/११ केभी, ६/८ एमभिए क्षमताको एउटा पावर ट्रान्सफर्मरहरू राखिएका छन् । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका पाँचवटा र ११ केभीका तीनवटा फिडर लाइनहरू निकालिएका छन्।
३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइनेछ । उक्त सहकारीले दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ ।
दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो । तर, सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो । १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सबस्टेसनमा माथिल्लो तामाकोसीसहित खिम्ती र लिखू नदी करिडोरका जलविद्युत् आयोजनाहरूको विद्युत् जोडिएको छ ।
ती आयोजनाहरूबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युतलाई १३२/३३ केभी सबस्टेसनमार्फत ३३ तथा ११ केभीमा झारेर स्थानीय रूपमा आपूर्ति गरिएको छ । बाँकी विद्युतलाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबर र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सबस्टेसनतर्फ प्रवाह गरिएको छ ।