ताप्लेजुङको दुर्गम गाउँ सिरिजंघा– ८ याम्फुदिनको थुंगिमका १३ घरका बासिन्दाले गएराति रातभरि जागै बसेर रात कटाएका छन् । बुधबार बेलुकादेखि अविरल परेको वर्षापछि काबेली खोलामा बाढी आएर एक घर र बिजुलीको पावरहाउस बगायो । त्यसपछि उनीहरू डरले अग्लो स्थानमा गएर बसे । पावरहाउस बगेपछि त्यो क्षेत्रमा अहिले विद्युत् टुटेको कञ्चनजंघा माध्यमिक विद्यालयकी शिक्षिका ज्ञानु राईले बताइन् ।
थुंगिम गाउँमा रहेको सिरिजंघा गाउँपालिका– ८ को कार्यालयको प्रांगणबाट काबेली खोलाको बहाव बग्न थालेको र अफिससमेत बगाउने अवस्थामा रहेको शिक्षक राईले बताइन् । अब कञ्चनजंघा माध्यमिक विद्यालय, स्वास्थ्य कार्यालय, कञ्चनजंघा संरक्षण क्षेत्रको सेक्टर कार्यालय अनि सबै घरहरू जोखिममा रहेको राईले बताइन्। बारीमा कटेरो बनाएर बाँधिएका गाई–बाख्राहरू कति बगायो थाहा नभएको राईले बताइन् । जगतबहादुर राईको होटेलसहितको घर र केही चौपायासमेत बगाएर लगेको अमिरमान राईले बताए ।
राईले याम्फुदिनको सामेखामका २० घर, नेपु, डडेले र बतासेका ३१ घर, तुम्या गाउँका पाँच घरलाई तुम्याखोलाले छेकेर कतै जान नसक्ने बनाएको छ । ‘मरिन्छ कि बाँचिन्छ थाहा छैन । अहिले पनि पानी अविरल परिरहेको छ, टेलिफोनबाट भक्कानिएको श्वरमा अमिरमान राईले भन, ‘अब कतैबाट पनि निस्कने ठाउँ छैन । काबेली खोला र याम्फुदिन बजारनजिकै रहेको तुम्याहा खोलाले सबै बगाइसक्यो, पुलहरू पनि बगे, अब कतै निस्कने ठाउँ छैन ।’
पानी परेर सबै खोलो बढेपछि गाउँपालिकाको केन्द्र तेल्लोक तथा सदरमुकामबाट यी गाउँमा जाने बाटो बन्द भएको छ । दुई वर्षअगाडि ७२ लाखको लगानीमा बनाएको स्वास्थ्य चौकी भवन पनि बगाउन लागेको राईले बताए ।
जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङले आफ्ना तवरबाट सबै क्षेत्रबाट पहल भइरहेको बताइन् । स्थानीय तह विपत् व्यवस्थापन समितिले आ–आफ्नो क्षेत्रबाट पहल गरिरहेको उनकाे भनाइ छ । सशस्त्र प्रहरी बल सिनाम गुल्मबाट पनि ससस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ चोम्जोङले बताए ।
वर्षासँगै आएको बाढीले बाटो बगाउँदा सबै विद्यालय बन्द
वर्षासँगै आएको बाढीले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका– १ सुरुमखिम, सिरिजंघा गाउँपालिका– ८ याम्फदिनका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ ।
बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालय प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो । वडाभित्रका एक बालशिक्षा, तीन आधारभूत र एक मावि बन्द भएको प्रधानाध्यापक यज्ञमणि पौडेलले बताए । उता, सिरिजंघा– ८ याम्फुदिनका चारवटा विद्यालय बन्द गरिएको छ ।