देउता रिसाउने अन्धविश्वासले सुत्केरी र महिनावारी हुँदा अझै छाउगोठमा !

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

छाउगोठमुक्त घोषणा गरिएको बाजुराको बुढीनन्दा नगरपालिकामा महिलाहरू महिनावारी र सुत्केरी हुँदा अझै छाउगोठमा बस्छन्। देउता रिसाउने अन्धविश्वासका कारण वडा नम्बर ४ का महिलालाई महिनावारी र सुत्केरी भएको समयमा गोठमा राख्ने चलन कायमै छ।

२१ जेठमा घरमै सुत्केरी भएकी वडा नम्बर ४ भवना गाउँकी २० वर्षीया सरिता रोकायालाई घरबाट पाँच मिनेट टाढा रहेको छाउगोठमा राखियो। सुत्केरी हुँदा घरभित्र बसे देउता रिसाउँछन् भन्ने पुरानो संस्कारका कारण आफू घरबाहिर छाउगोठमा बसेको उनले सुनाइन्। पहिलोपटक सुत्केरी भएकी उनलाई स्वास्थ्य संस्थामा सुत्केरी गराई घर ल्याउँदा बाटो छोइने र देउता रिसाउने अन्धविश्वासले घरमै सुत्केरी गराइयो।

‘कुरुको भवना गाउँमा सुत्केरी र महिनावारी भएको महिलाले भूमि छुँदा देउता रिसाउने विश्वास कायम छ। त्यसैले स्वास्थ्य संस्था जाने चाहना हुँदाहुँदै घरमै बच्चा जन्माएँ,’ सरिताले भनिन्। छाउगोठवरिपरि झाडी र जंगल छ। डरैडरमा छाउगोठमा रात बिताउनुपरेको उनले गुनासो गरिन्। उनले भनिन्, ‘राति बाघ, भालु वा कोही अरू मान्छे नै पो आउँछ  कि भन्ने डर लागिरहन्छ।’

भवना गाउँका महिला महिनावारी र सुत्केरी भएको अवस्थामा यही घरमा बस्ने गरेका छन्। ‘सुत्केरी हुँदा देउता रिसाउँछन् भन्ने डरले २० दिनसम्म दही, दूध खान पनि पाइँदैन,’ उनले भनिन्। सरिताकी जेठानी शर्मिला रोकायालाई पनि दुई महिनाअघि सुत्केरी हुँदा यसै छाउगोठमा राखिएको थियो। एकातिर देउता रिसाउने डर र अर्कोतिर समाजले मानिआएको पुरानो संस्कार जोगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

कुरु गाउँको भवना टोलबाट ३० मिनेटको पैदल  दूरीमा आधारभूत स्वास्थ्य केन्द्र छ। तैपनि महिलाहरू सुत्केरी गराउन आउने नगरेका आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टर इन्चार्ज धर्मा चदाराले बताइन्। स्वास्थ्य केन्द्रमा उनी कार्यरत रहेको नाै महिनासम्म भवना गाउँका कुनै महिला सुत्केरी गराउन आएका छैनन्। उनका अनुसार स्वास्थ्य केन्द्रमा नियमित गर्भ चेकजाँच गराए पनि सुत्केरी हुन भने आउँदैनन्।

बुढीनन्दा नगरपालिकालाई चार वर्षअघि नै छाउगोठमुक्त घोषणा गरिएको थियो। भवना गाउँमा अझै छाउगोठमा बस्नुपर्ने बाध्यताबारे नगर उपप्रमुख रामबहादुर बोहराले अनभिज्ञता प्रकट गरे। उनले भने, ‘सुत्केरी महिलालाई घरबाहिर राखेको कुरा जानकारी भएन। त्यसो हो भने यो राम्रो कुरा भएन।’

सुझावित समाचार