काभ्रेको नमोबुद्ध नगरपालिका– ११ मा श्रीमानको कुटाइबाट श्रीमतीकाे मृत्यु भएकाे छ । मृतक निर्वाचित वडासदस्यसमेत हुन् । श्रीमानको कुटाइबाट घाइते भएकी वडासदस्यको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट नमोबुद्ध- ११ की वडासदस्य ४५ वर्षीय ज्ञानी विकको मृत्यु भएको छ।
जेठ २९ गते आफ्नै श्रीमान् ४८ वर्षीय शम्भु विकको कुटपिटबाट ज्ञानी गम्भीर घाइते भएकी थिइन् । घाइते ज्ञानीको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरायसी झगडाको क्रममा जेठ २९ गते राति शम्भुले ज्ञानीमाथि कुटपिट गरेका थिए । धुलिखेल अस्पतालमा परीक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।
ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान् शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडासदस्य निर्वाचित भएकी थिइन् । शवको अहिले पोस्टमार्टमको तयारी भइरहेको छ । हत्याआरोपी विकलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।