पर्यटन प्रवर्द्धनका लागि राइनासकोटमा साइकल ट्रेल र पदमार्ग निर्माण

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

लमजुङको राइनास नगरपालिकाले आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा रहेको राइनासकोट होमस्टे पुग्ने गरी साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ। नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्न वडा नम्बर ९ र १० को गौरवको योजनाअन्तर्गत पर्यटक लक्षित साइकल ट्रेल र पदमार्ग निर्माण गरेको हो।

नगरपालिकाले वडा नं ९ को भक्ति थापा पार्कदेखि वडा नं १० को पात्लेपानी ऐतिहासिक दरबार, कोकोगाउँको गोरखनाथ मन्दिर, लामा गाउँको साल्मेकोट जोगी गुफा, क्याभ्रे भञ्ज्याङ हुँदै प्यारजुङ भञ्ज्याङसम्म करिब ६ किलोमिटर साइकल ट्रेल तथा पदमार्ग निर्माण गरेको छ।

उक्त ट्रेल तथा पदमार्ग निर्माणलाई चालू आर्थिक वर्षको गौरवको योजनाको रूपमा लिइएको छ । वडा नम्बर ९ को १० लाख र वडा नम्बर १० को ६ लाख गरी १६ लाख रुपैयाँको लागतमा ट्रेल तथा पदमार्ग निर्माण गरिएको हो। यसमा स्थानीयको १० प्रतिशत जनश्रमदान रहेको छ ।

यस क्षेत्रका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको प्रवर्द्धन तथा संरक्षणका निम्ति ट्रेल र पदमार्ग निर्माण गरिएको राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताए । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका निम्ति आकर्षण थप्दै साइकल ट्रेल निर्माण गरिएको हो ।’

उद्घाटनको क्रममा लमजुङ र अन्य जिल्लाका गरी २१ जनाले साईकल यात्रा गरेका थिए । साइकलयात्रीहरूले राइनासकाेट– १० को प्यारजुंग भञ्ज्याङदेखि जोगिगुफा, साल्मेकोट, लामागाउँ, गोरखनाथ मन्दिर, कोकेगाउँ, घुरसापे, दरबारगढी, पात्लेपानी, राइनासकोट हुँदै सिद्ध गुफा भएर भक्ति थापा पार्क मोहोरियाकोटसम्म साइकल यात्रा गरे।

साइकल ट्रेल र पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुव गुरुङले लमजुङमा पर्यटन प्रवर्द्धनमा नयाँ कामको थालनी भएको भन्दै यसले राइनासको मात्र नभई सिंगो लमजुङको पर्यटन प्रवर्द्धन हुने बताए ।

सुझावित समाचार