कांग्रेस नेतृत्वले केन्द्रीय समिति बैठक छल्ने तथा विभाग र भ्रातृ संस्थालाई अलपत्र पार्ने काम किन गरिरहेको होला ?
यो सब नेतृत्वको स्वेच्छाचारिता तथा गैरजिम्मेवारीको पराकाष्ठा हो । आफूलाई प्रजातान्त्रिक भनाउने नेताहरूले पार्टीका आन्तरिक फोरममा विरोध हुन्छ भनेर केन्द्रीय समिति बैठकबाट भाग्नुजस्तो लाजमर्दो अवस्था अर्को के नै होला र ? फेरि नेतृत्वको विरोध गर्नेहरू पनि आफ्नो बाटोमा प्रस्ट छैनन् । पार्टी नेतृत्व र उसको विरोध गर्ने कसैको पनि अनुहार उज्यालो देखिँदैन । यति कमजोर, गतिहीन र पदलोलुप नेतृत्व कांग्रेसको इतिहासमै अर्को कुनै थिएन ।
पार्टीमा ‘अर्ली’ महाधिवेशनको मुद्दा पनि उठिरहेको छ । त्यो कति सम्भव देखिन्छ ?
पार्टीमा विशेष महाधिवेशनको जोडदार माग गर्ने र त्यसलाई निष्कर्षमा पुर्याउने हुती र ल्याकत विरोधी समूहमा पनि देखिँदैन । नेतृत्वले त विशेष महाधिवेशन छल्ने प्रयास गर्ने नै भयो । अहिले विशेष महाधिवेशन टार्न नीति महाधिवेशनको हल्ला चलाइएको छ । पार्टी नेतृत्वले पनि आफ्ना विरोधी समूहभित्र द्वन्द्व गराएर विरोधी आवाज मत्थर पार्न चलखेल गरिरहेको देखिन्छ । पार्टीमा नेतृत्वको विरोध गर्ने पराक्रमी कार्यकर्ताभन्दा पनि परिक्रमामा विश्वास गर्ने पंक्ति हाबी छ
यस्तोमा कांग्रेस रूपान्तरण कसरी सम्भव होला त ?
पार्टीको रूपान्तरण भनेको के हो ? शेरबहादुर देउवाको स्थानमा कुनै अर्को बहादुर आउँदैमा पार्टीको रूपान्तरण हुने होइन । रूपान्तरणका लागि त पार्टीले बिपी, गणेशमान, किशुनजीहरूको आदर्श पछ्याउन सक्नुपर्छ । स्थापनाकालीन सिद्धान्तलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।