विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल बिहीबारबाट

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका थिए । 

विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही ३२ जेठदेखि १२ असारसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए । 

खर्च कटौतीको प्रस्तावको सूचनाका लागि ४८ घण्टाको समय तोकिएको छ । प्रतिनिधिसभाको अर्को बैठक ३२ जेठको बिहान ११ बजे बस्नेछ । 

यसअघि आजको पहिलो बैठकमा प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिए । उनले जनताको जीवनस्तर उकास्न, जनतालाई समृद्धि प्रदान गर्न, रोजगारी सिर्जना गर्न तथा उद्योग व्यवस्थाको प्रवर्द्धनका विषयलाई दृष्टिगत गरेर बजेट तर्जुमा गरिएको जिकिर गरे ।

स्वास्थ्य, शिक्षा, पूर्वाधार, शान्तिसुरक्षा र सुशासन प्रवर्द्धन गर्नेतर्फ उन्मुख गराउने हिसाबले बजेट विनियोजन गरेको उनको स्पष्टोक्ति थियो । उनले स्वास्थ्य बिमा, विभिन्न गहन प्रकृतिका रोगको उपचार र पछि परेको क्षेत्रका लागि बजेट सुस्पष्ट ढंगले विनियोजन गरेकोसमेत बताए । 

गरिबीको रेखामुनिका विपन्न नागरिकको तथ्यांक आएपछि थप बजेट विनियोजन गरिने भन्दै उनले वर्तमान सरकारले देश र जनताका लागि काम गर्ने लक्ष्य लिएकाले बजेटमा विभेद नगरेको जिकिर गरे ।

सुझावित समाचार