अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा हुने दाबी गरेका हुन्।
आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आगामी आवमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सक्ने आधारहरू रहेको बताए। सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी आर्थिक वर्षको पहिलो दिनदेखि नै काम थालनी गर्ने अर्थमन्त्रीको भनाइ छ।
‘६ प्रतिशतको आर्थिक वृद्धि गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । सरकारले गरेर मात्रै पुग्दैन । विदेशी सहयोगमा पनि सरकारले धेरै ठूलो महत्व राखेन । खर्च गर्न सकिरहेको छैन । सरकारले पुँजीगत खर्च बढाउनुपर्छ भन्ने लागेको छ । त्यसका लागि सरकारले राजस्वको दायरा बढाउँदै लैजानुपर्छ,’ उनले भने।
सरकारले राजस्वको दायरा बढाउँदै राजस्व संकलन बढाउन कागती निचोरेजस्तो गरेर नभई अर्थतन्त्र चलायमान बनाउने गरी राजस्व संकलन गर्ने नीति लिएको अर्थमन्त्रीको भनाइ छ। सरकारले ल्याएको बजेटमा स्रोत सुनिश्चितताका विषयमा प्रश्न उठाउने ठाउँ रहेको उल्लेख गर्दै उनले सरकारले चालू आर्थिक वर्षको भन्दा कम आर्थिक वृद्धि र आन्तरिक ऋणको लक्ष्य राखेको बताए।