चक्रवात बिपरजोयको प्रभाव मुम्बईसम्म, हवाई उडान प्रभावित

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकूल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन्। 

पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ले अत्यधिक भीषण चक्रवाती आँधी मुम्बईमा अवतरण भएपछि सहर र वरपरका क्षेत्रमा भारी वर्षा र हावाहुरी चलेको छ। 

मुम्बई विमानस्थलका केही उडान रद्द वा ढिलो भएको र केहीले अवतरण रद्द गर्नुपरेको र सयौँ यात्रुले आफ्नो उडानका लागि घन्टौँ पर्खनुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

‘खराब मौसम र मुम्बई विमानस्थलको धावनमार्ग ०९–२७ अस्थायी रूपमा बन्द हुनुका साथै हाम्रो नियन्त्रणभन्दा बाहिरका अन्य कारणहरूले गर्दा हाम्रा केही उडानहरू ढिलाइ र रद्द भएका छन्,’ एयर इन्डियाले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सोमबार मुम्बईको मरिन ड्राइभमा पनि उच्च ज्वारभाटाको लहर देखिएको थियो र तटीय महाराष्ट्रका केही जिल्लामा आँधीबेहरीको चेतावनी जारी गरिएको छ।
 
भारतीय मौसम विज्ञान विभाग (आइएमडी)ले चक्रवात ‘बिपरजोय’ बिहीबार गुजरातको सौराष्ट्र र कच्छ तट पार गर्ने सम्भावना छ र ती क्षेत्रहरूमा उच्च आँधीको गति एक सय ५० किलोमिटर प्रतिघण्टासम्म पुग्ने जानकारी गराएको छ। प्रशासनले तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन नागरिकलाई निर्देशन दिएको छ।
 

सुझावित समाचार