दादुराबाट बच्न अपनाउनुपर्ने सावधानी

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

दादुरा श्वासप्रश्वासका माध्यमबाट सर्ने भाइरस हो । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा हावामा तिव्र रूपमा यसका कीटाणु  फैलन्छन् । कोभिडभन्दा पनि आक्रामक रूपमा यो संक्रमण फैलने गर्छ । एक संक्रमित व्यक्तिले खोप नलगाएका झन्डै १० जनामध्ये ९ जनालाई संक्रमित गर्न सक्ने जोखिम रहन्छ । 

कसरी सर्छ ?
संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, लामो समय कुराकानी गर्दा मुखबाट छिटा निस्किन्छ । त्यसले अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम रहन्छ । खोप नलगाएका व्यक्ति विशेष जोखिममा हुन्छन् । नेपाल सरकारले बाल खोप अभियानअन्तर्गत दादुरा–रुबेलाको खोप समावेश गरेको छ । त्यसैले यो खोप निःशुल्क लगाउन पाइन्छ । ९ महिना र १५ महिनाको उमेरमा खोपको पहिलो र दोस्रो मात्रा दिइन्छ । 

बच्चा विशेष जोखिममा 
नेपालगन्जमा गत पुसमा समुदायस्तरमै दादुरा फैलँदा खोप नलगाएका बालबालिका धेरै संक्रमित भएको पाइएको थियो । डब्लुएचओको एक प्रतिवेदनले पनि नेपालमा दादुराको जोखिम बालबालिकामा नै धेरै रहेको औँल्याएको थियो । यसको अर्थ अन्य उमेरसमूहमा यो रोग देखिँदैन भन्ने होइन । ३० र ४० कटेका मानिसमा समेत यो रोग देखिएका उदाहरण छन् । त्यसैले सबैजना सतर्क हुन आवश्यक छ । 

लक्षण 
ज्वरो आउने, सुक्खा खोकी लाग्ने, सिँगान बगिरहने, आँखा रातो हुने, गालाभित्र सेतो स्पट देखिने आदि यसका प्रारम्भिक लक्षण हुन् । सामान्यतया दादुरा भएको चार दिनपछि शरीरमा बिमिरा आउन थाल्छ । समयमै उपचार गरिएन भने यसले जटिल रूप लिन सक्छ । 

जटिल अवस्थामा पुगिसकेपछि निमोनिया, कानको संक्रमण, आँखाको संक्रमण, इन्सेफ्लाइटिसलगायत हुन सक्छ । यतिवेला पनि उपचार नगरे मानिसको ज्यानै जाने जोखिम रहन्छ । 

सतर्कता
यो रोग नियन्त्रणको सबैभन्दा राम्रो उपाय खोप लगाउनु हो । दादुरा–रुबेलाको खोप ९ महिनामा पहिलो डोज र १५ महिनामा दोस्रो डोज अनिवार्य लगाउनुपर्छ । महामारीको समयमा दादुराको कुनै पनि प्रारम्भिक लक्षण देखिएमा सोझै चिकित्सकलाई देखाउनुपर्छ । धेरैजना मानिस शरीरमा बिमिरा भएपछि मात्रै दादुरा भएको आशंका गर्छन् । जबकि, यतिवेलासम्म उनीहरूमार्फत धेरैमा संक्रमण सरिसकेको हुन सक्छ । सरुवा रोग भएकाले यसबाट आफू बच्न र अरूलाई जोगाउनका लागि पर्याप्त सावधानी अपनाउन जरुरी हुन्छ । 

दादुरा फैलन नदिन अभिभावकको ठूलो भूमिका हुन्छ । महामारीको समय बच्चामा प्रारम्भिक लक्षण देखिएमा उनीहरूलाई स्कुल जान दिनुहुँदैन । उनीहरूमार्फत अन्यमा संक्रमण सर्न सक्ने भएकाले आइसोलेसनमा राख्नुपर्छ । चिकित्सकलाई देखाउनुपर्छ । ठूला मानिसहरू पनि कुनै लक्षण देखिएमा कार्यालय वा भिडभाडमा जानुहुँदैन । हाछ्युँ गर्दा वा खोक्दा मुख छोप्नुपर्छ । दादुरा भएका व्यक्तिले प्रयोग गरेको ओछ्यान वा रुमाल अन्यले प्रयोग गर्नुहुँदैन । मास्क अनिवार्य लगाउनुपर्छ । 

झोलिलो र पोषिलो खानेकुरा पर्याप्त खानुपर्छ । जीवनजल पिउनुपर्छ । प्रारम्भिक लक्षण देखिएका व्यक्तिलाई अवस्था हेरेर चिकित्सकले भिटामिन ‘ए’ लिन सल्लाह पनि दिन सक्छन् । त्यस्तै, कानको इन्फेक्सन, आँखाको इन्फेक्सनलगायतमा चिकित्सकले जाँचेर एन्टिबायोटिक प्रयोग गर्ने सल्लाह पनि दिन सक्छन् । तर, चिकित्सकसँग परामर्श नगरी आफैँ कुनै औषधि प्रयोग गर्नुहुँदैन । 

See More On

सुझावित समाचार