राष्ट्रको साझा सुरक्षा नीति नहुँदा अराजकता र भिडतन्त्र : विज्ञ

संसदीय समितिमा विज्ञहरूको सुझाव– राष्ट्रिय हित केन्द्रमा राखेर साझा सुरक्षा नीति बनाऔँ

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

सुरक्षा विज्ञहरूले राष्ट्रिय हितलाई ख्याल गर्दै राष्ट्रको साझा सुरक्षा नीति बनाउन सुझाव दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको आइतबार बसेको बैठकमा विज्ञहरूले राष्ट्रको साझा नीति नहुँदा अराजकता र भिडतन्त्र मौलाएर राष्ट्रिय सुरक्षा नै खतरामा परेको औँल्याए । 

नेपाली सेनाका पूर्वरथी केशरबहादुर भण्डारीले राष्ट्रिय सुरक्षाका संयन्त्र कमजोर हुँदा राष्ट्रिय हित नै खतरामा परेको बताए । राष्ट्रिय सुरक्षा नीति, २०५९ का मस्यौदाकारसमेत रहेका भण्डारीले अहिलेको राष्ट्रिय सुरक्षा परिषद् कमजोर र झारा टार्ने खालको भएको बताए । ‘सुरक्षा परिषद्को अहिलेको अभ्यासले काम गर्न सक्दैन । परिषद् छ, तर समन्वय छैन । प्रधानमन्त्री भारत भ्रमणमा जाँदासमेत कुनै परामर्श भएन,’ उनले भने । 

परिषद्को संयोजकका हैसियतमा रक्षामन्त्रीले सिफारिस गर्ने र क्याबिनेटमा पनि मन्त्रीले नै स्वीकृत गराउने गरेको भन्दै भण्डारीले परिषद् नाम मात्र भएको बताए । परिषद्लाई विशिष्ट अधिकार दिनुपर्ने उनको सुझाव थियो । उनले राष्ट्रिय सुरक्षा नीति, २०७५ सार्वजनिक गर्न माग गरे ।

 नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रबहादुर सिंहले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा कमजोरी देखिएको बताए । ०४६ को राजनीतिक परिवर्तनपछि नीतिमा एकरूपता नहुँदा राष्ट्रियता नै कमजोर भएको उनको भनाइ थियो । सामुदायिक प्रहरी बनाउन ऐनमा गृह मन्त्रालयका साथै नेपाली जनताप्रति उत्तरदायी भनेर लेख्नुपर्ने सुझाव दिए । ‘पुलिस कमजोर हुँदा आन्तरिक सुरक्षा कमजोर भयो । यसमा राजनीतिक अस्थिरता कारक छ । व्यवस्था कसरी बलियो पार्नेतर्फ सोच्नुपर्छ,’ उनले भने । 

सशस्त्रका पूर्वएआइजी रविराज थापाले राष्ट्रिय सुरक्षाका लागि खुफिया एजेन्सी बलियो बनाउनुपर्ने बताए । ‘पहिला राष्ट्रिय अनुसन्धान तगडा थियो । अहिले हरायो । संस्थाहरूको भूमिका कमजोर छ,’ उनले भने । थापाले अमेरिकामा ओमाबा डक्ट्रिन, भारतमा मोदी डक्ट्रिन, र चीनमा सी डक्ट्रिन भएको उल्लेख गर्दै सोधे, ‘विगतमा शान्ति क्षेत्रको प्रस्ताव हाम्रो राष्ट्रिय डक्ट्रिन हो । अहिले हाम्रो डक्ट्रिन के हो ? हाम्रो राष्ट्र कुन नीतिबाट गाइडेट छ ?’ सुरक्षा नीति कार्यान्वयन गर्ने थिंकट्यांक पनि नभएको उनको भनाइ थियो । आन्तरिक सुरक्षा बलियो भए मात्रै राष्ट्रिय सुरक्षा सुदृढ हुने उनको भनाइ थियो । ‘पुलिसले अपराधी चिन्नुपर्यो, बलियो छ भन्दैमा छोड्नुभएन । पहिला आन्तरिक सुरक्षा बलियो हुनुप¥यो, त्यसपछि बाह्य सुरक्षा अघि बढ्छ । यसमा हाम्रोमा समस्या छ,’ उनले भने । 

भुटानी शरणार्थी प्रकरणमा संगठित अपराधमा मुद्दा अघि बढ्दा अख्तियार सुतेर बसेको र नियत राखेर सरकारले अवरोध गर्दा संस्थाहरू प्रभावित भएको थापाले बताए । ‘सुरक्षा निकायका खुफिया एजेन्सीहरूबीच राष्ट्रिय सुरक्षा खतरा के छ भनेर समन्वय छैन, संयुक्त बैठक बसेको छैन,’ उनले ध्यानाकर्षण गराए, ‘यसमा ढिलो हुन लाग्यो, जे भन्यो त्यही गर्ने समर्पणवादले राष्ट्र नै नरहने खतरा हुन्छ । समयमै हामी सचेत हुनुपर्छ । अहिले उपयुक्त वेला हो ।’ 

पूर्वरक्षासचिव आत्माराम पाण्डेले नेपालको सुरक्षा प्रणाली कमजोर रहेको बताए । ‘दाउद इब्राइमका मान्छेले कपिलवस्तुबाट नागरिकता लिन्छन् । चाल्र्स शोभराजका हात्ती छिराउने कुराहरू यसका उदाहरण हुन् । त्यस्तै, अमेरिकी विदेशमन्त्री तिब्बती क्याम्प र भारतीय सचिव सोझै बालुवाटार पुग्छन् । अफगानिस्तान, सिंगापुरबाट लागुऔषध, अपहरणमा ट्रान्जिट सिटका रूपमा नेपाल बदनाम छ । हाम्रो संयन्त्र असफल भइरहेको छ,’ उनले भने । 

देशमा हरेक कुरा राजनीतिक चस्माले हेर्दा सुरक्षा नीति कार्यान्वयन हुन नसकेको उनको अनुभव छ । ‘एउटा आइजी हुन सकेन भने प्रधानन्यायाधीशविरुद्ध महाभियोग आउँछ । जब मान्छेको वृत्ति विकास र मनोबल फेयर हुँदैन सुरक्षा अधिकारीले कसरी काम गर्छ ? यसमा हाम्रो कमजोरी छ,’ उनले भने, ‘सुरक्षा प्रणाली दुरुस्त राख्न वृत्तिविकास सुरक्षित हुनुपर्यो । आत्मबल बढाउने खालको वातावरण हुनुपर्छ । तर, अहिलेको गृह प्रशासन कमजोर भयो,’ उनले भने । 

सुरक्षा संयन्त्रलाई उचित परिचालन गर्न सकेमा राष्ट्रिय सुरक्षा र एकता कायम रहने उनको भनाइ थियो । ‘संयन्त्र गतिशील नभएसम्म जति नीति बनाए पनि हुँदैन । तीनै तहको सरकारको सीमा तोकिनुपर्छ,’ उनले भने । थापाले पुलिसले जहिलेसम्म काम गर्न सक्छ त्यस आधारमा उमेरहदमा राखेर खेर गइरहेको प्रहरी कर्मचारीको समय र राज्यको पेन्सन सदुपयोग गर्न पनि सुझाव दिए । 

पूर्वरक्षासचिव पाण्डेले राष्ट्रिय नीतिमा राष्ट्रिय सहमतिका साथ अगाडि बढे मात्रै राष्ट्र सुरक्षित हुने बताए । ‘राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति भयो भने नीति बलियो हुन्छ । साथै, स्थायी सरकारको प्रत्याभूति दिलाउनुपर्छ,’ उनले भने ।पूर्वगृहसचिव खेमराज रेग्मीले भ्रष्टाचारीलाई कारबाही नहुँदा सुरक्षा पनि प्रभावित भएको बताए ।

‘संसदीय समितिले औँल्याउँदा पनि आयल निगम जग्गा, वाइडबडी, सेक्युरिटी प्रेस, ओम्नी, नेपाल ट्रस्टको जग्गालगायत काण्डमा कारबाही हुँदैन । नियम परिवर्तन गरेर नीतिगत भ्रष्टाचार हुन्छ । अख्तियार निरीह छ, दलको कोटाबाट गएकाले आयुक्तहरू जनताप्रति जवाफदेही भएन । यसले कानुन मान्ने र कार्यान्वयन गर्ने मान्छेमा फ्रस्टेसन भइरहेको छ,’ उनले भने । न्यायसमेत सडकले निर्धारण गरिरहेको र भिडको शासन चलिरहेको भन्दै सडकमा कति भिड छ भनेर अदालतले निर्णय गर्ने परिस्थिति बन्नु दुःखद भएको बताए ।

समिति सभापति दिलकुमारी रावलले सरकार बदलिँदा नीति बदलिने प्रवृत्ति अन्त्य गर्न संसदीय समितिले छलफल प्रारम्भ गरेको बताइन् । ‘परराष्ट्र र राष्ट्रिय नीति स्पष्ट र साझा नहुँदा अन्तर्राष्ट्रिय जगत्मा कमजोर भइरहेका छौँ,’ उनले भनिन्, ‘आगामी दिनमा गृह मन्त्रालय र अधिकारीसँग छलफल गरेर नीति निर्माणमा अघि बढ्छौँ ।’ सांसदहरूले नेपाल र नेपालीपनमा आधारित रहेर सुरक्षा नीति चलाउनुपर्ने तथा सडकले सत्तालाई निर्देशित गर्ने होइन कि नीतिले राज्य चलाउने वातावरण बनाउनुपर्ने गरी साझा नीति बनाउनुपर्ने धारणा राखेका थिए ।

सुझावित समाचार