भारतलाई दुई सय ९ रनले हराउँदै अस्ट्रेलिया आइसिसी वर्ल्ड टेस्ट च्याम्पियन बनेको छ ।
टेस्ट च्याम्पियनसिपको दोस्रो संस्करणको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गर्दै टेस्ट च्याम्पियनसिपको उपाधि उचालेको हो ।
यससँगै अस्ट्रेलिया टी–२०, एकदिवसीय र टेस्ट विश्वकप जित्ने पहिलो राष्ट्र बनेको छ ।
भारत लगातार दोस्रोपटक टेस्ट च्याम्पियनसिपको फाइनलमा पराजित भएको हो । पहिलो संस्करणमा भारतलाई हराउँदै न्युजिल्यान्ड विजेता बनेको थियो ।
इंग्ल्यान्डको ओभल मैदानमा आयोजित फाइनल खेलको पाँचाैँ दिन भारत दोस्रो इनिङमा २३४ रनमा अलआउट भयो । भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहलीले सर्वाधिक ४९ र अजिन्का रहानेले ४४ रन बनाए ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले स्टिभन स्मिथ र ट्राभिस हेडबीच २८५ रनको विशाल साझेदारीको मद्दतमा पहिलो इनिङमा चार सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको भारतले भने पहिलो इनिङमा दुई सय ९६ रन मात्र बनाउँदा अलआउट भयो ।
चौथो इनिङमा अस्ट्रेलियाले भारतलाई जितका लागि ४४४ रनको विशाल लक्ष्य दिएको थियो । पाँचाैँ दिन अस्ट्रेलियाले तीन विकेट क्षतिमा १६४ रनको अवस्थाबाट खेल सुरु गरेको थियो । तर, लगातार विकेट गुमाएपछि भारत घुँडा टेक्न बाध्य भयो ।
अस्ट्रेलियाका लागि नाथन लायनले ४ तथा स्कट बोल्यान्डले ३ विकेट लिए । मिचेल स्टार्कले २ तथा कप्तान प्याट कुमिन्सले एक विकेट लिए ।
