भारतमा सडक दुर्घटनामा चार नेपालीको मृत्यु

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चारजना नेपालीको मृत्यु भएको छ। शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनीकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू सबै पूजापाठ सकेर फर्किरहेका थिए। 

दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्याउनेबित्तिकै मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ। 

‘विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रूपमा केही जानकारी आएको छैन,’ प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने। रासस 

सुझावित समाचार