बजेट कार्यान्वयनमा रुपन्देहीका उद्योगी–व्यवसायीको आशंका

शनिबार, २७ जेठ, २०८०
डिजिटल संस्करण

रुपन्देहीका उद्योगी–व्यवसायीले सरकारले प्रस्तुत गरेको बजेटमा केही सुझाव सम्बोधन भए पनि त्यसको कार्यान्वयन सन्तोषजनक नहुने आशंका व्यक्त गरेका छन् । बजेटका विषयमा भएको छलफलमा सहभागी व्यवसायीले बजेट राजस्वमुखी देखिएको तथा उद्योग क्षेत्रका समस्या समाधानका लागि उत्साहजनक नरहेको निष्कर्ष निकालेका हुन् । 

रुपन्देही उद्योग संघले ०८०/८१ को बजेटले उद्योग–व्यवसाय क्षेत्रमा पारेको प्रभावका सन्दर्भमा गरेको अन्तरक्रियामा संघका अध्यक्ष परिषद्का संयोजक तथा पूर्वअध्यक्ष एजाज आलमले राज्यले उद्योगी–व्यवसायीसँग कर र राजस्व कसरी उठाउने भन्ने कुरामा मात्र ध्यान दिएको, तर उनीहरूलाई राहत र सुविधा दिने कुरामा सधैँ आँखा चिम्लने गरेको बताए । राज्यको कतिपय गलत नीतिले स्वदेशी उद्योगहरू धराशायी हुने अवस्थामा पुगेको र बजेट कार्यान्वयनमा राज्यको कमजोरीले उद्योग क्षेत्रको विकास हुन नसक्ने उनको भनाइ थियो ।

सरकारले बजेटमार्फत गर्ने कतिपय नीति र कार्यक्रमले कार्यान्वयनमा समस्यासँगै उद्योग क्षेत्रलाई अस्थिर बनाउने गरेको गुनासो उद्योगीहरूले राखे । उनीहरूले राष्ट्रको औद्योगिक विकासका लागि आवश्यक पर्ने नीति र कार्यक्रमलाई निश्चित अवधि र लक्ष्य बनाएर स्थायी प्रकारले अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने सुझाव पनि दिए ।

संघका अध्यक्ष माधवप्रसाद पौडेलले संघले प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले ल्याएको बजेट र त्यसले उद्योग–व्यवसाय क्षेत्रमा पार्ने प्रभाव एवं नयाँ नीतिबारे जानकारी लिने उद्देश्यले अन्तरक्रिया गरेको बताए ।

सरकारले बजेट तर्जुमा गर्दा राय–सल्लाह लिने गरेको भए पनि उद्योगका समस्या समाधानका लागि बजेटमा उत्साहजनक विषयहरू नराख्ने गरेको भन्दै छिटो–छिटो नीतिमा गरिने परिवर्तन र साना तथा मझौला उद्योगहरूको प्रवद्र्धनमा कार्यक्रमहरू नराखिने प्रवृत्ति यसपटक पनि कायमै रहेको उनको भनाइ थियो । 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटा, महासचिव हरिबहादुर खत्री, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, रुपन्देहीका सचिव सिए सगुन खनाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, रुपन्देहीका अध्यक्ष प्रदीप भट्टराईलगायतले बजेटका सम्बन्धमा धारणा राखेका थिए । 

See More On

सुझावित समाचार