कालीगण्डकी गाउँपालिका स्याङ्जाको मुख्य प्रशासनिक भवन उद्घाटन गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार कालीगण्डकी गाउँपालिका स्याङ्जा आउने भएका छन्।
कालीगण्डकी– ४ बिर्घा गहलाममा निर्माण सम्पन्न भवनको भोलि दिउँसो १ बजे पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।
झन्डै २६ रोपनी जग्गामा बनेको भवनका लागि स्थानीयले निःशुल्क जग्गा दिएका थिए। भवन निर्माणका लागि स्थानीय बलराम पाण्डे, गोमा पाण्डे, अनन्तराज पाण्डे, तुलसीराम पाण्डे, चोलाकान्त पाण्डे, रामप्रसाद पाण्डे, पोषकान्ति पाण्डे, दशरथ पाण्डे, गुनाखर पाण्डे, शालिकराम पाण्डे, ऋषिराम पाण्डे, चूडामणि पाण्डे, भीमा पाण्डे, रुक्मागत न्यौपाने, फुनिसरा पाण्डे र काशीकला पाण्डेले निःशुल्क जग्गा प्रदान गरेका थिए। उद्घाटन समारोहमा जग्गादाताहरूलाई समेत सम्मान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए।
भवनका लागि गाउँपालिकाले नाै करोड ६५ लाख ८२ हजार ७५ रुपैयाँ १५ पैसाको बोलपत्र आह्वान गरेको थियो।
त्यसअन्तर्गत श्यामसुन्दर निर्माण सेवा प्रा.लि. काठमाडाैंले ०७७ साल असार २९ गते ७ सात करोड ७० लाख ९७ हजार दुई सय ६१ रुपैयाँ ४८ पैसामा सम्झौता गरी ०७९ मंसिर ३० गते निर्माण सम्पन्न गरेको गाउँपालिकाका इन्जिनियर सागर आचार्यलाई उद्धृत गर्दै भागीरथ अधिकारीले जानकारी दिए।
जनमैत्री काम, सुशासन एवं सेवा प्रवाह र भौतिक विकासमा समेत प्रशंसनीय काम गरेको कालीगण्डकीले विभिन्न कार्यक्रम तथा समारोह व्यापक तयारीका साथ गर्ने गरेको छ।
गत फागुन ९ गते पनि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा अध्यक्ष कप खेलकुद महोत्सवको उद्घाटन गरिएको थियो। त्यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आतिथ्यतामा कार्यक्रम भएको थियो। यसअघि साँघुरो भवनबाट सेवा प्रवाह गरिँदा कार्य सम्पादनमा समेत समस्या भइरहेको थियो।