शिव शिखर सहकारी ठगीका तीन अभियुक्त जेल चलान

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। 

भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकद्वय अमिस राजभण्डारी र पुष्कर मल्ल तथा सो संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मालाई थुनामा पठाउने आदेश दिएको हो । 
गत शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १० जनाविरुद्ध मुद्दा दायर गरेको थियोे । 

भक्तपुरका निक्षेपकर्ताहरूको जाहेरी लिई अनुसन्धान गरेर सरकारी वकिलमार्फत सिआइबीले मुद्दा दायर गरेको हो । भक्तपुरका एक हजार चार सय ३९ जनाले सिआइबीमा जाहेरी दिएका थिए । 

७५ करोड ३२ लाख रुपैयाँको जाहेरी प्रहरीमा परेको छ । यद्यपि, भक्तपुरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयमा सदस्य रहेकाहरूको एक अर्ब ७१ करोड निक्षेप देखिएकाले त्यसलाई समेत मागदाबीका रूपमा अदालतमा मुद्दा दायर गरिएको थियो । 

३५ जिल्लामा शाखा रहेको सो सहकारीले एक लाखभन्दा धेरै सर्वसाधारणको करिब १४ अर्ब रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

सुझावित समाचार