स्विमिङका धेरै फाइदा छन् । यसले समग्र शरीरको कसरत गराउँछ र तौल नियन्त्रण गर्छ । शरीरलाई लचकदार बनाउँछ । रक्तसञ्चार राम्रो बनाउन, रक्तचाप नियन्त्रणमा राख्न, फोक्सो स्वस्थ राख्न, मुटुरोगको जोखिम कम गर्न स्विमिङको भूमिका रहन्छ ।
स्विमिङले तनाव घटाउँछ र मानसिक रूपमा तपाईंलाई सुदृढ बनाउँछ । विशेषगरी, गर्मीको समयमा स्विमिङ गर्नेको संख्या बढ्ने गर्छ । सबै क्षेत्रमा यस समय स्विमिङ पुल भरिभराउ देखिन्छन् । गाउँघरमा पनि खोलामा स्विमिङ गर्नेको संख्या ठूलो हुन्छ । स्विमिङका धेरै फाइदा भए पनि दुर्घटना हुन नदिनका लागि हामीले केही सतर्कताका उपाय अवलम्बन गर्न सक्नुपर्छ ।
- आवश्यक तालिम नलिई स्विमिङ सुरु गर्न हुँदैन । नत्र, पानीमा डुबेर ज्यानै जान सक्छ । यदि तपाईं सिकारु हुनुहुन्छ वा स्विमिङको थोरै मात्र अनुभव छ भने धेरै गहिराइमा पौडनुहुँदैन । आफूलाई सहज हुने र आपत् पर्दा खुट्टा टेकेर पनि बाँच्न सकिने ठाउँमा पौडनुस् ।
- पानीको सतह थोरै भएका स्विमिङ पुलमा डाइभ हान्न हुँदैन । खासगरी, कम पानी भएका ताल, पोखरी, नदी वा पुलमा डाइभ हान्दा गर्दन जमिनमा ठोक्किने जोखिम हुन्छ । भुइँमा गर्दन ठोक्किँदा मेरुदण्ड मोडिन्छ । जसले गर्दा स्पाइनल कर्डमा चोट लाग्ने गर्दछ । यस्तो चोटले कर्डमा गम्भीर समस्या आउने हुँदा कतिपयमा प्यारालाइसिसको समस्या पनि हुने जोखिम हुन्छ । तसर्थ, डाइभ हान्दा पानीको गहिराइ हेरेर मात्रै गर्नुपर्छ । पानीको गहिराइ अनुमान गरेर गर्यो भने राम्रो हुन्छ ।
- पानीभित्र हिंस्रक जनावारहरू हुन सक्छन् । नदी वा पोखरीमा गोही, सर्पजस्ता विषालु जीव हुन सक्छन् । यस विषय पनि ख्याल राख्नुपर्छ ।
- पानी दूषित पनि हुन सक्छ । जुका वा कुनै सरुवा रोग फैलिएको हुन सक्छ । जसले गर्दा अर्काे रोगको संक्रमण हुन सक्छ । त्यसैले दूषित पानीमा स्विमिङ गर्नुहुँदैन । छालामा एलर्जी पनि हुन सक्छ ।
- मदिरा सेवन गरेर कहिल्यै स्विमिङ गर्नुहुँदैन । मदिराले आपत्कालीन अवस्थामा प्रतिक्रिया गर्ने तपाईंको क्षमतालाई बिगार्न सक्छ । त्यसैले दुर्घटनाको जोखिम रहन्छ ।