सेयर कारोबारमा कर बढाएको भन्दै लगानीकर्ता आन्दोलनमा, माग सम्बोधन नभए टिएमएस बन्द गर्ने चेतावनी

आइतबार, २१ जेठ, २०८०
डिजिटल संस्करण
सेयर कारोबारमा कर बढाएको भन्दै लगानीकर्ता आन्दोलनमा, माग सम्बोधन नभए टिएमएस बन्द गर्ने चेतावनी

फाइल तस्बिर

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै सेयर लगानीकर्ता आन्दोलित बनेका छन् । आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने नियम लगाएको भन्दै दुई दिनदेखि लगानीकर्ता आन्दोलित बनेका हुन् ।  

विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् । उनीहरूले करको दर परिमार्जन नगरी विद्यमानकै व्यवस्था लागू हुनुपर्नेमा जोड दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले करमा गर्न खोजिएको नयाँ व्यवस्था परिमार्जन गर्नुपर्ने बताएका छन् । २१ गतेदेखि हुने बजेटको बुँदागत छलफलमा यसै विषयमा सशक्त रूपले आवाज उठाउने प्रतिबद्धता उनले जनाएका छन् । उनले भने, ‘सबै लगानीकर्ता एकजुट हुनुहोस्, अहिलेको यो समस्या साझा समस्या हो । ठूला र साना लगानीकर्ता सबैलाई मार पर्नेछ,  संसद्मा पनि कडा रूपमा प्रतिकार गर्छु ।’

माइतीघर मण्डलामा जम्मा भएका लगानीकर्ताले आगामी आइतबारका लागि आन्दोलनको कार्यक्रम तय गरेका छन् । लगानीकर्ता आइतबार बिहान अर्थमन्त्रीको घर घेराउ र दिउँसो ब्रोकर कार्यालयमा सिस्टम बन्द गर्न जाने भएका छन् । आर्थिक विधेयक परिमार्जन नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताले घोषणा गरेका छन् । बिहीबार पनि लगानीकर्ताले एकाध ब्रोकर कारोबार बन्द गराएका थिए ।

अर्थमन्त्रीले सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको बुधबार प्रस्टीकरण दिएका छन् । उनले सेयर कारोबार गर्दा ९९.९९ प्रतिशत कुनै पनि कर नलगाएको दाबी गरेका थिए । त्यस्तै, आन्तरिक राजस्व विभागले पनि विद्यमान पुँजीगत लाभकर यथावत् रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेका छन् । तैपनि, लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित भएका छन् । यही विषयलाई लिएर नेप्से परिसूचक दुई दिन घटेर बिहीबार भने केही सुधार देखिएको छ ।

See More On

सुझावित समाचार