पछिल्लो समय देशका विभिन्न जिल्लामा गाईगोरुमा लाग्ने ‘लम्की स्किन’ रोग तीव्र रूपमा फैलिएको छ । ताप्लेजुङका गाउँगाउँमा गाईगोरु मर्ने क्रम बढ्दै गए पनि सम्बन्धित निकायले भने अझै ध्यान दिन सकेको छैन । न प्राविधिक किसानको घरमा पुगेका छन्, न त औषधिको नै व्यवस्था गरिएको छ । यो रोग फैलिएको दुई साताभन्दा बढी बितिसक्दा पनि नमुना संकलन गरी परीक्षणका लागि ल्याबमा समेत पठाइएको छैन ।
‘लम्की स्किन’का कारण गाईगोरुमा ज्वरो आउने तथा फोका उठ्ने, घाउ हुने तथा फोका फुटेर रगत बग्ने र त्यसपछि मर्ने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक अमित माझीले बताए । ‘लम्की स्किन’ रोगका कारण फुङलिङ नगरपालिका– ६ तीनधारे गाउँका चरणकुमार लम्जेलको करिब एक लाख पर्ने भर्खर ब्याएको लैनो गाई मरेको छ ।
फुङलिङ नगरपालिका वडा नम्बर ६ र १ तीनधारे गाउँका करिब एक सय किसानका गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ । ‘१५ दिनदेखि गाई भकारोमा लडिरहेको छ, केही गर्दा पनि निको भएन,’ स्थानीय कृष्णप्रसाद आचार्यले भने, ‘अहिले गाई मर्ने अवस्थामा छ । करिब १४ हजारबराबरको औषधि गरिसकियो ।’