पाटाको शिखर सम्मेलन र एड्भेन्चर ट्राभल मार्ट सुरु

२२ देशका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर ट्राभल मार्ट २०२३ पोखरामा मंगलबारदेखि सुरु भएको छ । सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको नेपालले पाटा वार्षिक शिखर सम्मेलन पहिलोपटक आयोजना गरेको हो भने एड्भेन्चर मार्ट तेस्रोपटक आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनको प्रचुर सम्भावना रहेको पोखरामा यस्ता कार्यक्रमले थप सहयोग मिल्ने बताए । प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र विस्तारको कामलाई प्राथमिकतामा राखेको भनाइसमेत उनको थियो । पाण्डेले सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्न विभिन्न वायुसेवा कम्पनीहरू इच्छुक रहेको र केही समयपछि विदेशमा उडान सुरु हुने बताएका छन् । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीका अनुसार सम्मेलनमा २२ देशका गन्तव्य प्रमुखहरू सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यहरूको सहभागिता रहेको छ । त्यस्तै, ट्राभल मार्टमा विश्वभरका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहेको छ । कार्यक्रममा मल्दिभ्सका पर्यटनमन्त्रीसमेत सहभागी छन् ।

कार्यक्रम आयोजना गर्न पाउँदा नेपाल सरकार, बोर्डसँगै पर्यटन जगत् उत्साहित रहेको र यसले नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरिएको रेग्मीले बताए । कार्यक्रममार्फत पर्यटक आगमनमा वृद्धिसँगै सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । 

नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेट फर्ममा अवसर प्रदान गर्दै दुई दिनसम्म विशेष व्यापार–व्यवसाय सत्र सञ्चालनसमेत हुनेछ । सम्मेलनमा विभिन्न कार्यशालासँगै र बिटुबी मार्टका साथै पाटाको कार्यकारी बोर्ड र बोर्ड बैठक तथा वार्षिक साधारणसभासमेत सम्पन्न हुनेछ ।  

कार्यक्रमले कोभिड–१९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेष गरी पोखरा र गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न कोसेढुंगा साबित हुने पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज दाहालको भनाइ छ । बोर्ड, पोखरा पर्यटन परिषद्, पाटा इन्टरनेसनल र पोखराका समग्र व्यवसायीहरू कार्यक्रममार्फत यस क्षेत्रको पर्यटन क्षेत्रलाई माथि उठाउनेमा विश्वस्त रहेको भनाइ भण्डारीको छ । 

नेपालले पहिलोपटक आयोजना गरेको सम्मेलनले नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित बनाउने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलको भनाइ छ । गत जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै नेपालको पर्यटकीय राजधानी भनेर चिनिने पोखरामा सुरु कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा आफूहरूको रहेको सिग्देलको भनाइ छ । प्रसिद्ध ब्लगरहरूको समेत सहभागिता रहने कार्यक्रमका सहभागीहरूले लुम्बिनी, चितवन, बर्दिया, जोमसोमलगायत गन्तव्यको भ्रमण गर्ने छन् ।

सुझावित समाचार